१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कम्युनिष्टहको सिद्धान्तमा संघीयता हुँदैन : पौडेल

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७५, सोमबार १०:३३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान कम्युनिष्ट पार्टीको सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न र संघीयतालाई खारेज गर्न लागेको बताएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा वरिष्ठ नेता पौडेलले संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकामाथि हस्तक्षेप गर्न लागेको आरोप लगाए ।

‘बर्तमान सरकार पक्षपाती देखिएको छ, स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको छ’, उनले भने ‘यसरी स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न केन्द्र सरकारले गर्न पाउदैन । कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेका शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो ।’

पौडेलले अहिले देखिएको कर उठाउने विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको बताए । उनले केन्द्र सरकारले वित्तिय आयोग नबनाएका कारण करको विवाद सृजना भएको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले गर्ने काम पार्टीको भविष्यसँग जोडिएको भन्दै पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न समेत नगर प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिए ।

‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएका छन्, तपाईहरुको कामसँग पार्टीको भविश्य जोडिएको छ’ उनले भने ‘अहिले हामी धेरै कमजोर अवस्थामा पुगेका छौ । त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ । स्थानीय तह भ्रष्चारको अखडा हुन लाग्यो भन्ने बुद्धिजीवीहरुको तहबाट कुरा आउन थालेको छ । पारदर्शी रुपमा काम गर्न काम गर्नुपर्छ भन्ने दिमागमा राख्नुहोला ।’

पौडेलले बर्तमान सरकारले अहिले ठुला ठुला भ्रष्टचार गर्न लागेको भन्दै यो विषयलाई आम नागरिकसम्म लैजानुपर्ने पनि बताए ।