कल्पना तिवारी, उपमेयर, वालिङ नगरपालिका
देशभरि स्थानीय तहमा कर आतंक चलिरहेका बेला वालिङ नगरपालिका भने स्मार्ट बन्ने तयारी गर्दैछ । स्मार्ट सहर बन्न हाल पूर्वाधार तयार हुँदैछ । गत मध्य असारमा विज्ञ सम्मेलन गरेर स्मार्ट नगरको मार्गचित्र तयार भइसकेको छ । नगरपालिकाले इनोभेसन सेन्टर स्थापना गरिसकेको छ । बाँदर धपाउने मेसिनदेखि लिएर ड्रोन निर्माणसम्म सेन्टरले बनाइसकेको बताइएको छ । वालिङ नगर कसरी स्मार्ट बन्दैछ भन्ने विषयमा उपमेयर कल्पना तिवारीसँग कुमार राउतले गरेको कुराकानी :

० तपाईंको नगर स्मार्ट बन्दैछ ?
– सरकारले घोषणा गरेको केही स्मार्ट नगरपालिकामध्ये वालिङ पनि एउटा हो । त्यसका लागि हामीले असार १७–१९ मा विज्ञहरूको सम्मेलन गरेका थियौं । कसरी अघि बढ्ने भन्ने मार्गचित्र सम्मेलनले तय गरेको छ । त्यसो त नगरलाई स्मार्ट बनाउने केही काम सुरु भइसकेका छन् । साविकको ६ वटा गाउँपालिकालाई जोडेर वालिङ नगरपालिका बनेको हो । यसमा १४ वडा र ३१० गाउँ छन् ।

० यो स्थानीय जनताको माग हो ?
– हामीले निर्वाचनताका मत माग्दा जनताका आवश्यकता विकास र भौतिक पूर्वाधार निर्माण नै थिए । तर ती कुरासँगसँगै समय सापेक्ष प्रविधिमा रमाउन यहाँका जनताले खोजिरहेका छन् ।

० स्मार्ट बनाउन के गर्नुभएको छ ?
– २० वटा थिम बनाइएको छ । सडक विभागसँग मिलेर सिद्धार्थ मार्गलाई ठूलो बनाइएको छ । वालिङका घरहरू पिंक कलरका हुनेछन् । गाउँका घरहरूलाई पनि कलरफूल बनाउँदैछौं । नक्सा पास तथा कृषि र पशु कार्यक्रम सञ्चालन गरेका छौं । बिना व्याजमा बीउ पूँजी वितरण गरेका छौं, यद्यपि यो सानो रकम हो ।

० बीउ पूँजी भनेको के हो ?
– पूँजीको अभावमा व्यवसाय गर्ने इच्छा भएका व्यक्तिलाई बिना ब्याजमा थोरै रकम उपलब्ध गराउँछौं । नगर जमानी बस्छ । गाई, भैंसी वा बँगुर पालन गर्ने कृषकले बीउ पूँजी पाउँछन् । हामीले एक गाउँ एक उत्पादनमा जोड दिएका छौं ।

० प्रविधि चाहिँ के विकास गर्नुभएको छ ?
– अहिले हामी सुरुका चरणमा छौं, भर्खरै मोबाइल एप्स बनेको छ । त्यसले हरेक नागरिकलाई सूचना उपलब्ध गराउँछ । निःशुल्क वाईफाई सेवाको तयारी हुँदैछ । छिट्टै हामी विभिन्न सिफारिस अनलाइनबाटै उपलब्ध गराउँछौं ।

० प्रविधि विकासमा काम सुरु भइसक्यो ?
– इनोभेसन सेन्टर स्थापना भइसकेको छ । सरोज तिवारी र सिर्जन सुवेदीले धामाधम काम गरिराख्नुभएको छ । उहाँहरू इन्जिनियर हुनुहुन्छ, ड्रोन बनाएर हस्तान्तरण गरिसक्नुभएको छ । ८–१२ वर्षका प्रत्येक स्कुलका पाँचजना विद्यार्थीले साताको तीन दिन यो प्रविधिसम्बन्धी तालिम लिइरहेका छन् । इनोभेसनमा विराटनगर र वीरगन्जबाट आएका साथीहरूले पनि काम गरिराख्नुभएको छ ।

० अब के के बन्छ ?
– मानव जीवनलाई सहज बनाउने प्रविधिको विकास हुन्छ । बस्तीमा सेन्सर फिट हुन्छ, धुलो नियन्त्रण तथा भाँडा माझ्ने मेसिनको विकास हुँदैछ । योगगुरु बालकृष्ण पनि यहीँको हुनुहुन्छ । उहाँलाई दिल्लीमा मेयरसापले भेटेर आइसक्नुभएको छ । पतञ्जलिले पनि यो क्षेत्रमा केही गर्ने इच्छा देखाएको छ । उसले जग्गा माग गरेको छ, त्यो हामी छिट्टै उपलब्ध गराउँछौं ।

० कर बढाउनु भएको छैन ?
– छैन, अहिले हामी नागरिकको क्षमता वृद्धिमा केन्द्रित छौं । कृषि उत्पादन वृद्धि गरेर कृषक क्षमता भएपछि कर तिर्नलाई सहज होला भनेर हामीले तत्काल कर वृद्धिको योजना बनाएका छैनौं ।

० कसरी चल्न नगरपालिका ?
– पुरानो जे जसरी कर उठ्थ्यो, त्यहीअनुरूप अहिले पनि नगरपालिकाले कर लिन्छ । ढुंगा, गिट्टीका लागि ईआईएको प्रतिवेदन आएपछि हामी कर बढाउने वा नबढाउने निर्णय लिन्छौं । नागरिक शिक्षा र घरबहाल कर अहिलेसम्म हामीले लिएका छैनौं ।

० कुन पार्टीबाट चुनाव जित्नुभएको हो ?
– वालिङ नगरको मेयर र उपमेयर नेपाली कांगे्रसले जितेको हो ।

० पार्टी कि उम्मेदवार लोकप्रिय ?
– दुवै भन्नुपर्ला । यसपटकको संघीय निर्वाचनमा पराजित भए पनि यसअघिको चुनावमा यो क्षेत्रबाट नेपाली कांगे्रसले जितेको थियो । स्याङ्जा जिल्लामै कांगे्रस लोकप्रिय थियो, पछिल्लो समयमा संगठन केही बिग्रेको हो कि जस्तो लाग्छ ।

० तपाईं कहिलेदेखि कांगे्रस ?
– मेरो चेतना आएदेखि नै म नेपाली कांगे्रसमा छु । मेरा काका भवानीशंकर कांगे्रसमा हुनुहुन्थ्यो, उहाँकै प्रभावबाट कांगे्रस राजनीतिमा छु ।

० अध्ययन अध्यापन ?
– स्नातकसम्म अध्ययन गरेको छु । यहीँ वालिङमा अध्ययन गरेको हुँ । विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा थिएँ ।

० नेविसंघमा कुन पदसम्म पुग्नुभयो ।
– एकाइ कोषाध्यक्षसम्म भएँ । त्यसपछि महिला संघ र तरुण दलको राजनीतिमा संलग्न भएँ । अहिले महिला संघको अध्यक्ष छु । पार्टीको जिल्ला उपसभापति हुँ, अहिले कार्यवाहक सभापति छु । जिल्ला सभापति नभएकाले त्यो पद मैले पाउनुपर्छ भन्ने मेरो दाबी छ ।

० स्थानीय निकायमा कांगे्रसले कस्तो परिणाम ल्यायो ?
– तीनवटा नगर र एउटा गाउँपालिका जितेको छ । टिकट वितरणमा सन्तुलन नमिलेपछि सोचेजस्तो परिणाम आउन सकेन ।

० कांगे्रसको आन्तरिक राजनीति गोलमाल छ होइन ?
– त्यस्तो गोलमाल होइन, राम्रो व्यवस्थापन हुन सकेको छैन । व्यवस्थापन राम्रो हुने हो भने स्याङ्जामा नेपाली कांगे्रस बलियो छ ।

० कांगे्रस किन कमजोर भयो ?
– यसको जवाफ शीर्ष नेता गोपालमान श्रेष्ठ र धनराज गुरुङले दिनुहोला । तर ओरिजिनल कांगे्रसभन्दा डुब्लिकेट कांगे्रस जस्ताहरू संगठनमा हाबी भएको देख्छु म । अझ बुझ्ने भाषामा भन्दा धनवाद र डनवाद पार्टीमा हाबी भयो । कांगे्रस पार्टी भनेर मरिमेट्नप्रति शीर्ष नेतृत्वमा पुगेका व्यक्तित्वले बक्रदृष्टि राखिदिनुभएन । अब सबै सच्चिनुपर्छ ।

० तपाईंलाई जिल्ला सभापति देलान् ?
– कसैको निगाहले पद पाइँदैन, म संघर्ष गरेर आएकी हुँ, त्यसैले कसैले दिन्छन् भन्ने आश गर्दिनँ । पार्टीमा मेरो योगदानको मूल्यांकन हुन्छ भन्ने कुरामा म ढुक्क छु ।

० तपाईंलाई सभापति किन दिने ?
– पद र प्रतिष्ठाका लागि म राजनीतिमा आएको होइन, जनताको सेवकका रूपमा काम गर्दैछु । आस्था र निष्ठाको राजनीति गरिरहेकी छु । योभन्दा बढी म के भनौं ।

० विवाह गर्नु भो ?
– छैन, आमाबुबासँग बस्छु ।

० किन विवाह नगर्नुभएको ?
– यसको जवाफ मसँग छैन ।

० अविवाहित बस्नु प्रकृतिविरुद्ध होइन ?
– यो प्रश्न सन्दर्भबाहिर गयो ।