१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकार भ्रष्टाचारमा लिप्त : कांग्रेस

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७५, सोमबार १५:५२

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । नेपाल एयरलाइन्सको विमान खरिद तथा अन्य कामहरुमा ठूल्ठूला भ्रष्टाचार भएको भन्दै कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार विधि प्रक्रिया विपरित धम्क्याएर पैसा कमाउन मात्र लागि परेको जिकिर गरे ।

पार्टी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेपाली कांग्रेसका तर्फबाट नगरपालिकाका प्रमुख तथा उपप्रमुख भएकाहरुसँग आज राजधानीमा गरेको कार्यक्रममा शीर्ष नेताहरुले न्यायालय र स्वतन्त्र प्रेसलाई समेत निस्तेज पार्न सरकार क्रियाशील भएको आरोप लगाए ।

उनीहरुले नेपाली कांग्रेसबाट निर्वाचित सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई पार्टीको बदनाम नहुने र जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न निर्देशनसमेत दिए । पार्टी सभापति शेरबहादुर देउवाले सरकार सबै निकायमा कब्जा जमाएर अधिनायकवाद लाद्न लागि परेको बताए ।

उनले कञ्चनपुरमा बालिका बलात्कार र हत्यापछि न्यायका लागि आन्दोलनमा उत्रिएका नागरिकमाथि सरकारले गोली चलाएर दमनमा उत्रिएको आरोप लगाए । सरकारको रवैया यस्तै रहे देशभर आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएको र राजनीतिक परिवर्तनलाई समेत निस्तेज बनाउन उद्दत रहेको आरोप लगाए । उनले संघीयतालई ध्वस्त पार्दै केन्द्रीयतामा आधारित जनवाद ल्याउन कम्युनिस्ट नेतृत्वको सरकार लागेको जिकिर गरे ।

उपसभापति विमलेन्द्र निधिले जनताको भावना बुझेर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिए । १ सय ९१ जना सहभागी कार्यक्रममा पार्टीका नीति, स्थानीय तहमा पार्टीले खेल्नुपर्ने भूमिका, करलगायतका विषयमा विज्ञहरुले प्रशिक्षण दिएका छन् ।