१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा आकर्षक बन्यो नेपाली मेला (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७५, सोमबार २३:२३

लण्डन । तमुधिं युकेको आयोजनामा भएको नेपाली मेलामा बेलायतबासी नेपालीहरुले उल्लेख्य सहभागिता जनाए ।

आइतवार, लण्डनको केम्पटन पार्कमा मिनी नेपालको झझल्को दिदैं विविध आकर्षक सांस्कृतिक प्रस्तुतिसहित नेपाली मेलाको दशौं संस्करण सम्पन्न भयो ।

खराब मौसमले केहि असर गरेपनि सहभागीहरुको उल्लेख्य उपस्थितिले मेलालाई सधैजस्तै भव्य र सफल बनाइदिएको छ , तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङले भने, बिहानैदेखि भएको वर्षाको प्रवाह नगरी त्यति ठूलो संख्यामा बेलायतबासी नेपालीहरु उपस्थित हुनुले आयोजकका रुपमा हामीलाई खुशी र उत्साहित बनाएको छ ।

नेपाली मेलामा यसपटक गत वर्षको भन्दा पनि बढि ३७ वटा सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो । जसमध्ये विगतका २ वर्षको विजेता लमजुङ समाज यूकेले यसपटक पुनः सर्वोत्कृष्ट बन्दै लगातार तीन पटक एम्बासडर कप जितेर ह्याट्रिक गरेको छ ।

झांकीतर्फ सिक्लेस पर्चे समाज यूके दोस्रो र श्री मेश्राम बरम घान्द्रुक वेलफेयर सोसाइटी तेस्रो स्थानमा आउन सफल भए । सांस्कृतिक नृत्यको प्रस्तुतितर्फ भने घान्द्रुक वेलफेयर सोसाइटी यूके प्रथम, लमजुङ समाज यूके दोस्रो र सिक्लेस पर्चे समाज यूके तेस्रो बने ।

कार्यक्रमको पहिलो औपचारिक चरणमा शुभकामना मन्तव्य दिदैं कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुगाृबहादुर सुवेदीले मेलाले बेलायतबासी नेपालीहरुलाई एकताको सुत्रमा बांध्ने काम गरेको धारण व्यक्त गरे ।

तमु धिं यूके अध्यक्ष ज्ञाम गुरुङले दर्शको अवधिमा मेला बेलायतका सबै नेपालीको साझा मेला बन्न सफल भएको बताए ।

त्यसअवसरमा मेलाका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, पर्यटनमन्त्री रविन्द्र अधिकारी र तमु

 

 

धि यूके संरक्षक एवम गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले पठाएका शुभकामना भिडियोहरु देखाइएको थियो । तमु धि युकेका उपाध्यक्ष तथा मेला संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित विभिन्न कुटनितिक नियोगका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलरहरुका साथै नेपाली संघसंस्थाका प्रतिनिधीहरुको अतिथीका रुपमा उपस्थिति थियो ।

कार्यक्रममा युवाहरुले पनि विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सबै फोटोः नरेन्द्र बस्नेत