८ बैशाख २०८१, शनिबार
Follow Us

प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन नचलाउन सरकारलाई चेतावनी

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७५, मंगलवार १५:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । मंगलबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराएका हुन् ।

कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उनले हुकमी शैलीमा मुलुकको शासन प्रणाली संचालन हुन नसक्ने बताए ।

नेपाल वायु सेवा निगमको वाईड बडी विमान खरिदमा भएको अनियमितता बारे छानविन गर्न अख्तियार प्रवेश गरेपछि मन्त्रालयले त्यसमा ढाकछोप गर्न खोजेको दावि पनि सांसद अधिकारीले गरे । अनियमितता ढाकछोप गर्न मन्त्रालयले छानविन समिति बनाएको उनको भनाई थियो ।

७ सय ६१ वटा सरकारलाई केन्द्रले हुकुमी शासनको शैली र तजबीचको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने उनको भनाइ छ । सांसद अधिकारीले नेत्रविक्रम चन्द निकट नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई पटक पटक नियन्त्रणमा लिने र अयोग्य लडाकुलाई बाहिर जानबाट रोक्ने घटनाले मुलुकको मानव अधिकारको स्थिती राम्रो नभएको देखाएका दावी गरे ।