६ बैशाख २०८१, बिहीबार
Follow Us

शहीद परिवारलाई रोजगारी

sarusaru
१३ भाद्र २०७५, बुधबार ०२:४५

महेन्द्रनगर, धनुषा – मधेश आन्दोलनका क्रममा शहीद हुनुभएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई प्रदेश नं. २ सरकारले रोजगारी दिएको छ ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णयअनुरुप प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो ।

आज एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले निलमदेवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आह्वान गरिसकेका छौँ, सम्पर्कमा आउनुहुने शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिन्छाँै ।”

यसअघि पनि मुख्य न्यायाधिवक्ता कार्यालयमै अर्को शहीद रामविवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको थियो ।

मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको हो । निर्देशिकाअनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।
रासस