७ बैशाख २०८१, शुक्रबार
Follow Us

घरले च्यापिएर सल्यानमा एकै परिवारका पाँच जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार ०६:३०

खलंगा । सल्यानमा घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।  घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।