८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन हुनैपर्छ: सद्भावना नेता कर्ण

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार १४:४४

भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लाग्नुभएको भारत भ्रमणलाई आशङ्का गर्न नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने दाबी गर्नुभयो ।

उहाँले संविधानलाई सबैको मान्य बनाउन संविधान संशोधन गर्नै पर्ने बताउँदै देशका सबै पार्टी, वर्ग, जातजाति, लिङ्ग, समुदायले मान्न नसक्ने संविधान नटिक्ने बताउनुभयो ।

सहअध्यक्ष कर्णले भन्नुभयो– “२०४७ सालको संविधान दश वर्ष पनि टिकेन, सबैलाई मान्य हुने गरी संशोधन हुन नसके यो संविधान पनि टिक्दैन ।” अङ्गीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको तर वैवाहिक अङ्गीकृत नागरिकताको पाउने महिलाले आफ्नो क्षमताअनुसार राज्यको सबै निकायमा प्रवेश पाउनु पर्ने माग भने रहेको जिकिर गर्नुभयो ।

नेता कर्णले मधेसको माग पूरा नगरी तोकिएको समयमा निर्वाचन गर्छौं भन्नु गलत भएको टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि ठूला दलहरु लागेको आरोप लगाउनुभयो । सीमाङ्कन विवाद समाधान नमिलाई निर्वाचन असम्भव भएको उहाँको भनाइ थियो ।

भारतको विरोध गर्दैमा राष्ट्रवाद भइन्छ भन्ने भ्रम धेरै नेतामा परेको टिप्पणी गर्दै उहाँले भारतको विषयमा बोले राष्ट्रघाती र चीनको समर्थन गरे राष्ट्रवादी होइन्छ भन्ने कसैले भ्रम राख्न नहुने बताउनुभयो ।