७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसमा समयसापेक्ष ढंगबाट सिद्धान्तको व्याख्या गर्न माग

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार १५:३१

काठमाडौं । नेपाली कांग्रेसको नीति तथा कार्यक्रमकाबारेमा बहस हुने प्रमुख थलो महासमिति बैठकमा पार्टीको सिद्धान्तलाई नै समयसापेक्ष बनाउनेबारे बहस गर्नुपर्नेमा आवाज उठेको छ । बीसौं शताब्दीको अघिल्लो दशकमा बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तमै अहिलेसम्म हिँडेको कांग्रेसमा स्थापनाको झन्डै ८ दशक पुग्नै लाग्दा विश्वसँग सदृश्य हुनेगरी सिद्धान्त परिमार्जन र व्याख्या गर्नुपर्ने बहस सुरु भएको हो ।

नेपाली कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रम तय गर्ने निकाय भनेकै महासमिति हो । कांग्रेस विधानले महाधिवेशनपछिको ठूलो निकायकारुपमा महासमितिलाई अधिकार दिएको छ । महाधिवेशनमा नेतृत्वकाबारेमा बढी कुरा हुने हुँदा नीति तथा सिद्धान्त र कार्यक्रममाथि छलफल गर्ने मुख्य थलो महासमितिलाई मानिएको हो ।

पार्टी स्थापनायता भएका सबै निर्वाचनमध्ये संघीय व्यवस्थामा मुलुक प्रवेश गरेपछि गरिएको तीनै तहका निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएको छ । जसका कारण कांग्रेस नेतृत्व आलोचित बनेको छ । त्यो नमीठो हारपछि पहिलोपटक बस्न लागेको महासमिति बैठकमा पार्टी नेताका चरित्र सुधार्नेदेखि सिद्धान्तलाई नै पुनःव्याख्या गर्नुपर्ने आवाज उठेका छन् ।

केन्द्रीय समितिमा रहेका नेताहरु नै कांग्रेसको नीति र सिद्धान्त व्याख्यामा नेतृत्व चुक्दा र गरेका काम प्रचारमा ल्याउन नसक्दा पराजय भोग्नुपरेको तर्क गरिरहेका छन् । २१औं शताब्दीमा समयसापेक्ष ढंगबाट सिद्धान्तको व्याख्या गर्न माग भइरहेको छ । कांग्रेस भ्रष्टाचारबाट टाढा छ, लोकतन्त्रका सिद्धान्तसँग लोभ साटिन्न भन्न, पार्टीको एजेन्डा तय गर्न र सिद्धान्तलाई पुनःव्याख्या गरेर जान महासमिति बैठकले संकल्प गर्नुपर्ने केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको भनाइ छ ।

कांग्रेसका थुप्रै शुभचिन्तक र कार्यकर्तालाई नेतृत्वमा रहेकाहरुको चरित्रका कारण कांग्रेस अहिले पनि सुध्रिन्छ भन्ने लागिरहेको छैन । तर, आवाज उठाउँदै जान छोड्नुहुन्न भन्ने पनि छ । हिजो पार्टी नेतृत्व चुप हुँदा पनि गणतन्त्रको पक्षमा आवाज उठी नै रह्यो । अन्ततः पार्टी गणतन्त्रमा पुग्यो । आज पनि कांग्रेस ठूलो संकटमा छ । संगठन सुधारदेखि सिद्धान्त पुनःव्याख्या आवश्यक छ भन्ने प्रशस्तै छन् ।

यही महासमितिमा वार कि पार गर्न नसकेपनि विश्वमा फिँजिएको लोकतन्त्रको बहावमा नेपाली लोकतन्त्र पनि फिँजिने र आफूहरुको सिद्धान्त पनि विश्वसँगै हिँड्ने बनाउन महासमिति बैठक महत्वपूर्ण स्थल हुने अर्का सदस्य श्याम घिमिरेको भनाइ छ । भदौमा नै तोकिएको महासमिति बैठक सार्दै मंसिर पुर्‍याइएको छ । कांग्रेस सुधारको आवाज चौतर्फी उठेकै छ ।