१२ बैशाख २०८१, बुधबार
Follow Us

अल्डरसट भलिबल भिडन्त, विजेतालाई १२ सय पाउण्ड नगद पुरस्कार

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७५, बुधबार १९:१२

लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) यूकेले बेलायतका नेपाली खेलाडीहरुमाझ सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पहिलो मोना यूके कप भलिबल प्रतियोगिता आउंदो सेप्टेम्बर ८ तारिखका दिन अल्डरसटको एल्डरवुड लिजर सेन्टरमा खेलाइने भलिबल समुहका प्रमुख अनिल मल्लले जनाए ।

मल्लका अनुसार पुरुषतर्फ विजेतालाई १२ सय पाउण्ड र रनर अपलाई ८ सय पाउण्ड नगदसहितको पुरस्कार दिइनेछ । त्यस्तै, महिलातर्फ विजेतालाई ६ सय, रन अपलाई ४ सय र तेस्रो हुने टिमलाई १ सय पाउण्ड नगदसहितको पुरस्कार राखिएको छ । प्रतियोगितामा पुरुष तथा महिला टोलीहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा भाग लिन पुरुष टोलीले १ सय ५० पाउण्ड र महिला टोलीले १ सय पाउण्डको प्रवेश शुल्क तोकिएको छ ।

बेलायतबाहेक युरोपका देशहरुबाट पनि कुनै टोली आएमा भने उनीहरुलाई स्वागत गर्दै प्रवेश शुल्क छुट दिइने भएको छ ।

आयोजक मोना यूकेका भलिबल समुहका प्रमुख अनिल मल्लले प्रतियोगितामा सहभागी हुन ईच्छुक टोलीले सेप्टेम्बर ५ सम्ममा आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएका छन् । प्रतियोगितामा नाम दर्ताका लागि सम्पर्क नम्बरहरु तलको तस्बिरमा उल्लेख छन् ।

मोना यूकेका खेलकुद संयोजक खेम भण्डारीले बेलायत तथा युरोपमा समेत रहेका सम्पुर्ण नेपाली भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आव्हान गरेका छन् ।

बेलायतमा रहेका खेलाडीहरुको हौसला र प्रबर्द्धनका लागि आयोजना गरिन लागेको मोना यूके कपमा उपस्थित भएर खेलाडीको हौसला बढाइदिन मोना यूकेले बेलायतबासी नेपालीहरुमा आग्रह गरेको छ ।