७ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यालयलाई आर्थिक सहयोग

sarusaru
१४ भाद्र २०७५, बिहीबार ०३:१०

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व। आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ ।

गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पु¥याउन रु सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक रु १२ हजारका दरले सो रकम उपलब्ध गराउनुभएको हो । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन् । विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले बताउनुभयो ।

विद्युत् तार व्यवस्थित
सदरमुकाम बेनीमा विद्युत्को तार व्यवस्थित गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले एबिसी केबुलमार्फत सुरक्षित र व्यवस्थितरूपमा विद्युत् वितरण गर्न लागेको प्राधिकरणका बेनी शाखा प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

केबुल प्रविधिबाट विद्युत् वितरण गर्दा विद्युतीय दुर्घटनाको जोखिम घट्नुका साथै विद्युत् चोरीसमेत नियन्त्रण हुने जनाइएको छ । नाङ्गो तारमा छोए करेन्ट लागेर दुर्घटना हुने भएकाले वितरण प्रणालीलाई सुदृढीकरण र व्यवस्थित गर्न लागिएको केन्द्रका सहायक इञ्जिनीयर कृष्णप्रसाद शर्माले बताउनुभयो ।

बेनीमा १२ किलोमिटरसम्म एबिसी केबुलबाट विद्युत् वितरण गरेर नाङ्गो ताररहित बनाइने प्राधिकरणले जनाएको छ । नाङ्गो तारभन्दा यो तार बढी तौलको हुने भएकाले पहिले पोल रहेका ठाउँको बीच–बीचमा थप पोल राख्न लागिएको छ । बजार क्षेत्रमा एक सय थप पोल राखिने प्राधिकरणले जनाएको छ ।

यसैबीच बजारको केही ठाउँमा विद्युत्को पोल गाड्न स्थानीयबासीले अवरोध गरेका छन् । आफ्नो घर अगाडि पोल गाड्न नदिने केही स्थानीयवासीको अडान र विरोधका कारण गणेशटोल र पिपलचोक क्षेत्रमा पोल गाड्ने काम अघि बढ्न सकेको छैन । बजारका अन्य क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ ।

बेनपा–८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले एबिसी केबुलबाट वितरण गर्ने प्राधिकरणको योजनालाई सफल बनाउन विवाद समाधानका लागि सहजीकरण गरिने बताउनुभयो ।
रासस