१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘अध्यात्म विना सुखी जीवन संभव छैन’

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०७५, बिहीबार १४:१८

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अध्यात्म विना सुखी जीवन संभव नहुने बताएका छन्।

ओशेा क्याम्प युके तथा विश्व हिन्दु महासंघ युके शाखाद्वारा लण्डनको साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित एक समारोहलाई संबोधन गर्दै स्वामी अरुणले पैसाले जीवनमा ठूलो घर, मोटरजस्ता सुविधा जोडन सकिने तर सुख, सन्तोष र आनन्द जोडन नसकिने उदाहरणहरु दिए। उनले संसारका सबैभन्दा धनी पश्चिमा मुलुकहरुमा आत्महत्या, डिप्रेसन, तनाव र अन्य मानसिक समस्याहरु बढ्दै गएको जनाउँदै अब नेपालका गाउँघरमा गएमा मात्रै हाँसीरहेका मानिसहरु भेटन सकिने बताए।

‘आध्यात्मिक तथा भौतिकरुपले जीवनमा कसरी समृद्ध बन्ने’ भन्ने विषयमा प्रवचन दिंदै स्वामी अरुणले आफ्ना गुरु ओशोले मानिस भौतिक तथा आध्यात्मिक दुबै किसिमले संपन्न हुनुपर्नेमा जोड दिएको बताए। ओशोले परिवारमा गृहस्थ धर्म निर्वाह गरेर पनि साधना गर्नसकिने बताउँदै एउटा स्वस्थ र सुखी समाज निर्माणकालागि ‘जोर्बा द बुद्ध’ वा ‘नयाँ मानिस’ को परिकल्पना गरेको बताए।

उनले हरेक दिन कमसेकम एक घन्टा आफ्नालागि छुट्याउन र त्यसमा बीस मिनेट योग, बीस मिनट प्राणायाम र बीस मिनट ध्यान गर्न सुझाव  पनि दिए। युट्युबमा गएर https://www.youtube.com/results?search_query=tapoban+yoga हेरेर योग र प्राणायाम अभ्यास गर्न सकिने स्वामी अरुणले बताए। खानपिन, बसउठ र सरसंगतले हाम्रो शरीर र विचारलाई प्रभावित गर्नेभएकाले आफ्नो खाना र जीवनचर्या कस्तो हुँदै गैरहेको छ भन्नेबारे सजग रहन पनि उनले सुझाव दिए। अहिले  खासगरी पश्चिमा मुलुकहरुमा योग र ध्यानप्रति रुची बढीरहेकाले नेपालले योग्य प्रशिक्षकहरु तयार संसारभरि पठाउनुपर्ने समय आएको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले ज्ञान, ध्यान र दर्शनका त्रिवेणी व्यक्तित्व स्वामी आनन्द अरुणले नेपाल र नेपालीलाई संसारभरि चिनाउन अभूतपूर्व योगदान पुराइरहेको बताए। उनले स्वामी अरुण वर्तमान नेपालमा सबैभन्दा अग्लो र सग्लो दार्शनिक व्यक्तित्व भएको बताउँदै यस्ता सन्तपुरुषसंगको सान्निध्य र सत्संगबाट फाइदा उठाउन बाँकी नै रहेको बताए।

कार्यक्रमको शुरुमा मन्दिरको बोर्डअफ ट्रष्टीजका अध्यक्ष उमेशचन्द्र शर्माले स्वामी अरुणलाई पछ्यौरा ओढाएर सम्मान गरेका थिए भने विश्व हिन्दु महासंघ युकेका  महासचिव बालमुकुन्द जोशीले स्वागत गरेका थिए। बेलायतस्थित नेपाली समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको पनि उपस्थिति रहेको सो कार्यक्रममा कीर्तन ध्यान पनि गरिएको थियो।