१२ बैशाख २०८१, बुधबार
Follow Us

यतीको च्यारिटीमा पूर्वप्रधानमन्त्री माधव नेपाल सहभागी हुने

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७५, बिहीबार २१:३४

लण्डन । वेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसियसन युकेले च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालका विकट जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको सहयोगार्थ २८ अक्टोवरमा हुने सो च्यारिटी कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहभागी हुने यती नेपाली एसोसियसन युकेले जनाएको छ ।

एसोसियसनले विहीवार लण्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो ।

नेपालका असहाय, अशक्त, निमुखा, विपन्न वर्ग, द्वन्द पीडित तथा दुर्गम र पिछडिएका क्षेत्रका बालबालिकाको शिक्षाको लागि काम गर्दै आएको मानव जीवन संरक्षण मञ्च,नेपाल र हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ सो च्यारिटी कार्यक्रमको आयोजना हुन लागेको हो ।

ती संस्थाले पहिलो चरणमा तराईको जिल्लाहरुमा पुस्तकालय स्थापना, छात्रवृत्ति,स्वास्थ हेल्थ क्याम्प,शितलहर पीडित बालबालिका र बृद्ध हरुलाई न्यानो लत्ताकपडा,कम्बल वितरण र स्वस्थ्य सेवा कार्यक्रम लगएत एचआईभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष निर्माण तथा सिन्धुली, सिन्धुपाल्चोक रामेछाप जिल्लाको झन्डै चार सय विद्यार्थी बालबालिका लक्षित गरी सिन्धुलीको दुम्जा गाउँपालिकामा ईन्टरनेट र सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना गरी हस्तान्तरण गरि सकेका छन् ।

कार्यक्रममा नेपाल सहित अतिथिको रूपमा गायक, अभियानकर्ता तथा फाउन्डेसनका अध्यक्ष हेमन मोक्तान, हास्य कलाकार मनोज गजुरेल र चर्चित नायिका मरिस्का पोखरेलको समेत उपस्थिति रहने छ ।

पत्रकार सम्मेलन संस्थाका अध्यक्ष शशीधर नेपालले यती नेपाली एसोसियसनले गतवर्षहरुमा गर्दै आएको यती कप फुटवलको सट्टा ९ सेप्टेम्वरमा लङ टेनिसको आयोजना गर्न लागेको जानकारी दिए ।

यस्तै एएसोसियसनले आगामी १७ अक्टोवरमा लण्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा दशै शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ । यस्तै संस्थाको नयाँ कार्यसमितिको निर्वाचनको लागि राजकुमार त्रिपाठी संयोजक र शिद्धार्थबिक्रम क्षेत्री रहेको एक निर्वाचन समितिको समेत पत्रकार सम्मेलनमा घोषणा गरिएको छ । निर्वाचन मिति घोषणा नगरिए पनि नोभेम्वरको पहिलो साता सम्म निर्वाचन सम्पन्न हुने वताएको छ ।

च्यारिटी कार्यक्रम संयोजक समेत रहेका मोक्तानले बालबालिकाको भविष्यसंग जोडिएको सो अभियानमा हातेमालो गरी सहयोगको लागि आग्रह गरे ।

पत्रकार सम्मेलनमा समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा, हरिसिंह थापा, मदन थापा, संस्थाका महासचिव बाचसपति रेग्मी लगायतको उपस्थिती थियो ।