७ बैशाख २०८१, शुक्रबार
Follow Us

बिम्स्टेक सम्मेलन सकिँदै, चार पाहुना आजै स्वदेश फर्कने

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार ०५:१४

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज सकिदैछ । हिजोबाट सुरु भएको सम्मेलन आज काठमाडौँ घोषणा पत्र तय गर्दै सकिन लागेको हो । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि बिहान ११ बजेबाट सुरु हुने बिम्स्टेकको दोस्रो सत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदाहरु जानकारी गराउनु हुनेछ । सम्मेलनमा बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू)मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्ने कार्यत्रम छ ।

यसैगरी रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्र सम्बन्धमा सम्मेलनमा छलफल हुनेछ र अन्त्यमा काठमाडौँ घोषणापत्र तय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो पश्चात् नेपालले संगठनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दै सम्मेलन सकिनेछ ।

सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका भारतीय प्रधानमन्त्री मोदी सहित चार बिशिष्ट पाहुना आज नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ छा आज नै फर्कने भएका हुन् ।

बंगलादेश कि प्रधानमन्त्री शेख विहान एघार बजे स्वदेश फर्कदैछिन । त्यस्तै भारतीय प्रधानमन्त्री मोदी साँझ फर्कदैछन । म्यानमारका राष्ट्रपति विन मिन्ट चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत सवा चार बजे फर्कने कार्यक्रम छ ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने आज लुम्बिनी गएर शनिबार फर्कने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।