१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसियामा अवैध कामदार धरपकडमा पर्ने

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार ०५:१७

काठमाडौं । मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको आममाफी कार्यक्रम सकिएको छ । गएको वर्ष फेब्रुअरी १५ देखि सञ्चालन गरिएको कार्यक्रम सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध अझै थप कडाई गरिने र देशव्यापी धरपकड गरिने सरकारी अधिकारीहरुले जनाएका छन् ।

मलेसियाली अध्यागमन विभागका प्रमुख मुस्ताफिर अलीले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिनु भएको हो । उहाँले हिजै मध्यरातदेखि त्यस्ता कामदारविरुद्ध देशव्यापी धरपकड गरिने बताउनु भएको थियो । मलेसिया सरकारले यसअघि त्यस्ता कामदारलाई वैधानिकता प्रक्रियामा दर्ता भई काम गर्न पाउने अवसरसहितको ‘रिहाइरिङ’ कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

मलेसियाले वैधानिकताका लागि दर्ता भएका कामदारलाई ‘इन्फोर्समेन्ट कार्ड’ निस्शुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो । तर, कयौं आप्रवासी कामदार झन्झटिलो प्रक्रियाका कारण वैधानिक हुनबाट बञ्चित भएका बताइन्छ । त्यसरी वैधानिक हुने कार्यक्रम गत जुन महिनामै समाप्त भइसकेको छ । आममाफी कार्यक्रम भने पूर्व निर्धारित समय अनुसार हिजो सकिएको हो ।

अवैधानिक आप्रवासी कामदारका लागि पटक पटक आममाफी र वैधानिकता कार्यक्रम सञ्चालन गरिसकेको छ । पछिल्लोपटक गत सन् २०१४ यता आममाफी कार्यक्रमको अवसर उपयोग गरी ८ लाख ६७ हजार आप्रवासी कामदार स्वदेश फर्किएका मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीमध्ये झण्डै १ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।