१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डलरको मूल्य बढ्दा नेपाललाई नोक्सान

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार ०५:१९

काठमाडौं । आज एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो । यसले नेपाललाई फाइदा भन्दा घाटा धेरै हुने बताईएको छ । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो ।

खासगरी दुई कारणले डलरसँग नेपाली मुद्राको मूल्य (भाउ) घटछ । पहिलो विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र दोस्रो डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु । अहिले दोस्रोभन्दा पनि पहिलो कारणले नेरुसँग डलरको विनिमय दर बढदै गएको हो । पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ सुधारिएको हो । विज्ञहरूले यसलाई ‘ट्रम्प इफेक्ट’ को संज्ञा दिएका छन् ।

मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनुलगायत कारणले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको हो । ‘अमेरिकी अर्थतन्त्रका आधारभूत सूचकहरू कुल गार्हस्थ उत्पादन, बेरोजगारी, मूल्य वृद्धिलगायतमा उल्लेख्य सुधार भएको छ,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले भन्नु भयो ।