१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न, १८ बुँदे काठमाडौँ घोषणापत्र जारी

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार १२:०२

काठमाडौं । १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ । आयोजक राष्ट्रका रुपमा नेपालले अध्यक्षता गरिरहेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन् ।

सम्मेलनका क्रममा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र/विदेशमन्त्री तथा अधिकारीहरुले उर्जा साझेदारीसँग सम्बन्धित ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको छ । अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ । सम्मेलन सकिएलगत्तै सम्मेलन सफलतापूर्वक गराउन सहयोग पुर्‍याएकोमा सदस्य राष्ट्रका प्रमुखहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन समेत गरेका छन ।