८ बैशाख २०८१, शनिबार
Follow Us

गोङ्गबुको नयाँ बसपार्क सुविधा सम्पन्न बन्दै

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ०५:४३

काठमाडौ। काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्कको काम द्रुतगतिमा अघि बढेको छ । आमागी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको निर्माणको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कार्यकारी अध्यक्ष दीपक कुँवरले जानकारी दिनुभयो ।

बसपार्कलाई व्यवस्थित र आधुनिक पूर्वाधारसम्पन्न बनाउने उद्देश्यअनुरुप अहिले वरिपरिका टहरा हटाएर भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । कुँवरका अनुसार हाल फोहोर व्यवस्थापन, टिकट काउन्टर व्यवस्थापनको कामसँगै टहरा विस्थापन गरिएको स्थानमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने तयारीको काम भइरहेको छ ।
प्रालिले २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि २०७१ साउन २५ गते काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौतासमेत भइसकेको छ । अन्तर्राष्ट्रियस्तरको बन्ने भएसँगै काठमाडौँ महानगरपालिकालाई प्रालिले तिर्नुपर्ने शुल्कमा समेत वृद्धि गरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार ल्होत्सेले यसअघि वार्षिक रु ५१ लाख तिर्दै आएकोमा अब भने कामपालाई रु ९८ लाख तिर्नुपर्नेछ ।
बाहिरी जिल्लाबाट एक दिनका लागि काठमाडौँमा आउनेले एक दिनका लागि पनि अहिले गेस्ट हाउसको कोठा भाडामा लिनुपर्ने बाध्यता रहेकाले त्यो बाध्यतालाई हटाउन लकरको व्यवस्थासमेत गर्न लागिएको छ । उक्त लकर प्रयोग गरेबापत न्यून शुल्क तिर्नुपर्ने हुन्छ । बसपार्क निर्माण भएसँगै निःशुल्क बस्ने सुविधा, शौचालयको सुविधा र पानीको सुविधासँगै हेल्प तथा इन्फरमेसन डेस्कबाट सुविधा लिन सकिनेछ । कम्पनीले बैकिङ सुविधा दिने उद्देश्यका साथ बैंकको शाखासहित एटिएम लाउन्जसमेत निर्माण गर्ने जानकारी दिएको छ ।
सम्झौताअनुसार अबको ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सबै भौतिक संरचना काठमाडौँ महानगरको हुनेछ । बसपार्कमा सुुरक्षा संयन्त्र बलियो बनाउन सिसिटिभी जडान तथा प्रहरी पोस्टका लािग समेत भवन निर्माण गर्ने ल्होत्सेको योजना छ ।
त्यस्तै, नयाँ बसपार्कको कम्पाउन्डमा सुविधासम्पन्न होटलसमेत निर्माण गर्ने कम्पनीको योजना छ । यस्ता होटल सुविधासम्पन्न र सस्तो हुने कुँवरको भनाइ छ । बसपार्कमा मानिसको चहलपहल हुने भएकाले विद्युत् प्राधिकरणसँग सम्झौता गरी चौविसै घन्टा विद्युत् सुविधासमेत दिइनेछ ।