१६ चैत्र २०८०, शुक्रबार
Follow Us

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार ०५:११

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु प-यो, भन्नु भयो ।

उहाँका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आज बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ–आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।

पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताउनु भयो ।