१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घूस लिँदा पक्राउ परेका सचिव चौधरी निलम्बित

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ०५:५५

गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले बताउनुभयो ।

सचिव चौधरीसँग अख्तियारले रु २० हजार धरौटी लिई जिम्मा जमानीमा शनिबार छाडेको र उनलाई तीन महिनाका लागि निलम्बन गरिएको बर्दिवासस्थित अख्तियार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । सेवाग्राहीसँग घूस लिँदैगर्दा अख्तियारले बथनाहा गाविस सचिव चौधरीलाई १० हजार रुपैयाँ नगदसहित बिहीबार जलेश्वर–५ बाट नियन्त्रणमा लिएको थियो । बथनाहा गाउँका महिलालाई अवलोकन भ्रमण गराउन आव २०७२-७३ को बथनाहा गाविस परिषद्ले एक लाख रुपैयाँ बजेट पारित गरेको थियो ।

स्थानीय जागृति महिला सेवा बथनाहाकी अध्यक्ष रामसिकिल देवीले गाउँका ४७ जना महिला, दलित तथा बालबालिकालाई जेठ ११ गतेदेखि चारदिने भ्रमणमा लगेकी थिइन् र भ्रमणपछि उनीहरुलाई एक हजार ५०० रुपैयाँका दरले भत्तासमेत दिएकी थिइन् । तर ती महिलाले आफूले भ्रमणका लागि लिएको पेस्की फछ्र्यौटका लागि सचिव चौधरीलाई भन्दा उनले सुरुमा रु २० हजार घूस मागेका थिए भने महिलाले हारगुहार गरेपछि रु १० हजारमा राजी भएको थियो । अध्यक्ष रामसिकिलले २०७२ साल जेठ ३ मा सो कार्यका लागि गाविसबाट एक लाख रुपैयाँ पेस्की लिएकी थिइन् ।

सचिवले पटकपटक घूस मागेपछि रामसिकिलले असार १४ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाँै र बर्दिवासमा लिखित उजुरी दिएकी थिइन् । त्यसपछि अख्तियारको कार्यालय बर्दिबासकै योजनाअनुसार गत बिहीबार जिल्ला सदरमुकाम जलेश्वरमै सचिव चौधरीलाई ती महिलाले घूसको रकम रु १० हजार दिँदै गर्दा अख्तियारले उनलाई रङ्गेहात पक्राउ गरेको थियो ।