१५ बैशाख २०८१, शनिबार
Follow Us

महिला सङ्घको तेश्रो राष्ट्रिय महाधिवेशन सुरु

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ०६:१३

काठमाडौं । नेपाल महिला संघको तेश्रो राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डप क्षेत्र दुलहीझै सिगारिएको छ । भृकुटीमण्डपको खुला क्षेत्रलाई टिनको पाताले घेरिएको छ भने पार्कमा खाना खाने व्यवस्था मिलाइएको छ ।

‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म हुनेछ ।

महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले जानकारी दिनुभयो । महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ ।

महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खान बस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने अध्यक्ष सङ्ग्रौलाले बताउनुभयो । त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी आउनुभएको छ ।

सङ्घको अध्यक्ष पदका लागि उमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।

स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा अधिकारी, अम्बिका बस्नेत र हाल डा डीला सङ्ग्रौला सङ्घको अध्यक्ष हुनुहुन्छ ।