१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कृष्णबालन जोगाउन मुश्किल

sarusaru
१७ भाद्र २०७५, आईतवार १२:४९

पोखरा – आर्थिक समस्याले प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन जोगाउन मुश्किल पर्दै गएको छ ।

विशेषतः श्रीकृष्णजन्माष्टमीका दिन र अन्य विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई बालने कलाकारले देखाउने कृष्णबालन लोप हुन्े अवस्थामा पुगेको हो । आधुनिक संस्कृतिप्रतिको मोहले पनि यसलाई ओझेलमा पारेको छ । न्यूनतम ३० कलाकार चाहिने कृष्णबालनलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लगभग रु १४ लाख आवश्यक पर्ने बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष खगराज आचार्यले बताउनुभयो ।

आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदसाथै बालने कलाकार तयार गर्न तालीम आवश्यक पर्छ । प्रतिष्ठानले यसको जगेर्ना गर्न ठाउँ ठाउँमा पुगेर आवश्यक तालीम दिँदै आएको छ । शुरुमा बालन सञ्चालनका लागि आवश्यक संरचना तयार गर्न लाग्ने खर्चका अतिरिक्त प्रत्येक पटक यो प्रदर्शन गर्न न्यूनतम रु ५० हजारसम्म लाग्ने गरेको बालन संरक्षण अभियानकर्ता एवं नेपाली लोक संस्कृति बालन प्रतिष्ठान तनहुँका अध्यक्ष यमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तनहँुले चन्दा सहयोगबाट लोपोन्मुख बालन संरक्षणमा लागे पनि अहिलेसम्म सरकारी तवरबाट कुनै आर्थिक सहयोग प्राप्त गरेको छैन । आर्थिक अभावका साथै तालीम दिएर तयार गरिएका कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त बन्दै जानु, युवा वैदेशिक रोजगारीमा जानु र महिला कलाकार विवाह भएर जानु लगायतका कारण कलाकार संरक्षण गर्न धौधौ भएको छ ।

देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवानका लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृति हो । गायनका साथै नृत्यसमेत प्रस्तुत गरिने कृष्णबालन भगवान श्रीकृष्णका लीलामा आधारित विशिष्ट मौलिक संस्कृति हो ।

गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दश अवतारलाई लिएर बालन सञ्चालन गरिने भए पनि कृष्णबालन केवल कृष्णचरित्रमा आधारित हुन्छ । जनविश्वासअनुसार पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै बालन नाच नाच्ने चलन शुरु भएको हो ।

श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्ण जन्म हुँदै कंश बधसम्मका घटना क्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन् । कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकार बताउँछन् । कृष्णबालनका लागि न्यूनतम आवश्यक पर्ने कलाकारमध्ये एक तिहाइ महिला कलाकार आवश्यक पर्छ । महिला कलाकारलाई घरबाट निस्कन समस्या पर्ने, अविवाहित महिला विवाह भएर जाने आदि पनि समस्याका रुपमा देखिएको छ ।

बालनका लागि आवश्यक सरसमान खरिदका साथै खेल्ने कलाकारलाई आवश्यक सेवा सुविधा दिन सक्ने हो भने यसलाई जोगाउन खासै समस्या नहुने अर्का बालन संरक्षण अभियानकर्ता कमलप्रसाद पौडेल बताउनुहुन्छ । शुरुमा कलाकारका लागि गरगहना, कपडा एवं शुङ्गारका सामाग्रीको व्यवस्थाका साथै कलाकारलाई तालीम दिन ठूलो धनराशि खर्च हुने जानकारी दिँदै उहाँले त्यसपछि भने प्रत्येक पटक देखाइने बालनका लागि कलाकारको पारिश्रमिक लगायतको व्यवस्था आवश्यक हुने बताउनुभयो ।

राम्रा सामग्री खरिदका लागि त्यही किसिमको बजेट आवश्यक हुने हुँदा बालन कस्तो बनाउने भन्ने विषय आर्थिक व्यवस्थापनमा निर्भर हुने उहाँको भनाइ छ ।
रासस