७ बैशाख २०८१, शुक्रबार
Follow Us

घरधनी र व्यवसायीको सम्झौतामा घरबहाल कर

sarusaru
१८ भाद्र २०७५, सोमबार ०४:५७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताएका छन्।

जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँले आइतबार यहाँ आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उनले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने बताए। “सम्झौतामा के उल्लेख गरेका छन्, त्यहीअनुसार घरधनी वा बहालबस्नेले घरबहाल कर तिर्नुहोस्,” उनले भने।

शाक्यले गत वर्षको तुलनामा काठमाडौँ महानगरपालिकाले कर घटाएको भन्दै सबै व्यवसायलाई करको दायरामा ल्याउन महानगरपालिका लागेको उल्लेख गरे। उनले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै व्यवसायको आधारमा महानगरपालिकालाई कर तिर्न आग्रह गरे।

आन्तरिक राजश्व विभागका निर्देशक सरोज निरौलाले घरवहाल कर र व्यवसायी कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरिएको भन्दै कोही व्यवसायी पनि करको दायराबाट भाग्न नमिल्ने बताए।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले मुलुकको आर्थिक समृद्धिको आधार होटल व्यवसाय भएको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न होटल व्यवसायी लाग्नुपर्ने उनको भनाइ थियो।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले व्यवसायीको व्यवसायलाई सहज बनाउनका लागि महानगरपालिका लागेको भन्दै कर तिर्ने कुरामा व्यवसायीहरु लचिलो हुन आग्रह गरे।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले संविधानको दायराअनुसार कर निर्धारण गरेको बताउँदै करको दायरा फराकिलो बनाउनका लागि होटल व्यवसायी र महानगरपालिकाबीच सहकार्य जरुरी रहेको उल्लेख गरे।

कामनपा राजश्व शाखाका प्रमुख राज्यप्रसाद प्रधानाङ्ग, टोखा नगरपालिकाका–९ का अध्यक्ष जोगप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता कृष्ण आङदेम्बेलगायतले नगरपालिका र महानगरपालिकाले तोकेको करको दायरामा आउन सबैलाई आग्रहसमेत गरे।

जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष शैलेश कार्कीले महानगरपालिकाले व्यवसायीलाई सुविधा दिनुभन्दा पनि कर बढाएको भन्दै व्यवसायीको समस्या बुझ्न आग्रह गरे।
डिसी नेपाल