१५ चैत्र २०८०, बिहीबार
Follow Us

बिम्स्टेक सफल : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार ०७:४३

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिनुभयो ।

बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उहाँले सार्कको पनि आफ्नै महत्व रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताउनुभयो ।

चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताउनुभएका उहाँले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिनुभयो, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले भन्नुभयो ।

प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिनुभएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी हो भन्नुभयो ।अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।