१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनावबाटै नेतृत्व चयन हुनुपर्छ

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ०६:२९

० तरुण दलको अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?
– हो, मैले तरुण दलको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । तरुण दललाई वैचारिक रूपमा सशक्त किसिमले अघि बढाउन नेतृत्वको दाबी गर्दै अध्यक्षमा उम्मेदावरी दिँदैछु । म तरुण दलको पूर्वमहासचिवसमेत हँु । जिल्ला अध्यक्ष र दुईपटक केन्द्रीय सदस्य भई सकेको छु । तरुण दललाई बलियो बनाउने अभियानअनुरूप मैले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।

० तोकिएको समयमा तरुण दलको महाधिवेशन हुन्छ त ?
– तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ । हुन्छ पनि । कसैको लोभलालचमा नपरी हामी सबै अघि बढ्नुपर्छ । तरुण दललाई बलियो बनाउनु जरुरी छ । तोकिएको समयमा महाधिवेशन गराउन हामी सबै प्रतिबद्ध भएर लाग्नुपर्छ ।

० तपाईको राजनीतिक पृष्ठभूमि भनिदिनुहोस् न ?
– म नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय भएको हुँ । नेविसंघको जिल्ला अध्यक्षदेखि तरुण दलको महासविसम्म भएँ । क्षेत्रीय सभापतिदेखि पार्टीको महासमिति समस्या पनि बनेकोे छु । आदरणीय बालकृष्ण खाँण दाईको पालामा मैले जिल्लादेखि केन्द्रीय समितिसम्म रहेर काम गरेको हँु । म उहाँबाट संगठनमा प्रशिक्षत भएको हँु । हिजो जुनबेला तरुण दल थियो, त्यही तरुण दल अहिले फेरि जीवित गर्नु जरुरी छ । त्यसैका लागि मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । म नेतृत्व चयन भागबन्डाबाट होइन, चुनावबाटै हुनुपर्छ भन्ने पक्षमा छु ।

० तपाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट तरुण दलमा नेतृत्वको दाबी गर्दै हुनुहुन्छ ?
– हो, म संस्थापन पक्षको हुँ । शीर्ष नेताहरूले जुन जिम्मेवारी दिनुहुन्छ, म त्यो लिन तयार छु । तर नेताहरूसँग झगडा गरेर, नेताहरूलाई अपमान गरेर राजनीति गर्न चाहन्न । पार्टीका शीर्ष नेताहरूलाई सम्मान गरेर अघि बढ्न चाहन्छु । आदर्श, मूल्य, मान्यतालाई बन्धकी राखेर अघि बढ्ने पक्षमा म छैन । नेताहरूले जे निर्णय गर्नुहुन्छ, त्यसलाई म स्वीकार गर्छु ।

० असोज ३ गते तरुण दलको महाधिवेशन होला त ?
– तोकिएको मिति असोज ३ मा महाधिवेशन हुन्छ । जो मैदानमा जान सक्दैनन् । मैदानमा उसको आधार छैन, त्यसले विवाद गरिरहेको छ । तोकिएको समयमा महाधिवेशन नगरेर तरुण दललाई मागिखाने भाँडो बनाउन खोजिएको छ, तर तरुण दलको महाधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्षहरूलगायत सबै त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

० मधेसका जिल्लामा अझै जिल्ला अधिवेशन भएका छैनन् नि ?
– तराई मधेसमा गाउँ अधिवेशन, क्षेत्रीय अधिवेशन भइरहेका छन्, तर त्यसलाई पनि रोक्ने प्रयास भएका छन् । तरुण दलको विधान छ, त्यसलाई उहाँहरूले मान्ने कि नमान्ने ? नेताहरूबाट टीका लगाएर सधैं पदमा बसिरहने ? कार्यकर्ताको माझमा जाने कि नजाने ? यत्रो जल्दाबल्दा युवाको समस्यालाई उहाँले हेर्ने कि नहेर्ने ? व्यक्तिको कुरा गौण हो, तर उहाँ आफूलाई हेरेर अझै पद लम्बाउन खोजिरहनुभएको छ ।
हिजो सुशील कोइरालाले ६ महिनाभित्र महाधिवेशन गराउन कार्यसमिति बनाउनुभएको थियो । साढे चार वर्ष भयो, उहाँहरूले महाधिवेशन गराउन सक्नुभएन । तैपनि अहिलेसम्म उहाँहरू पदमा बसिरहनुभएको छ । अझै पनि पदमा बसिरहने ? कार्यकर्ताको माझमा पनि जान नसक्ने ? यो नैतिकताले दिन्छ कि दिन्न ? त्यसैले तोकिएको समयमा महाधिवेशन हुनै पर्छ । कथंकदाचित तोकिएको समयमा महाधिवेशन हुन सकेन भने अहिलेको तदर्थ समिति विघटन हुनुपर्छ ।

० तोकिएको समयमा महाधिवेशन रोक्न कसले षड्यन्त्र गरेको छ, प्रस्ट भन्दिस् न ?
– ६ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट तत्कालीन पार्टी सभापतिज्यूले दिनुभएको थियो, तर साढे चार वर्षसम्म पनि उहाँहरूले महाधिवेशन गर्न सक्नुभएन । साढे चार वर्षसम्म महाधिवेशन नगर्ने, तर तरुण दलमा हामी मात्रै बस्नुपर्छ । हाम्रो मात्रै बपौती हो भन्ने ठान्नुभएको छ उहाँहरूले । त्यही मानसिकताले अहिले कार्यकर्तामा नकारात्मक सन्देश गएको छ । महाधिवेशनस्थलमा त्यसको जवाफ उहाँहरूले दिनुपर्छ ।

० तरुण दलको वर्तमान समितिमा रहेका सदस्यहरूलाई भन्नुभएको हो ?
– हो, उहाँहरू अझै पनि पदमा बसिरहन चाहनु भएको छ । तत्कालीन सभापति सुशील कोइरालाले लिखित रूपमा अहिलेको समितिले ६ महिनाभित्र महाधिवेशन गर्ने र समितिमा रहेकाहरूले चुनाव लड्न नपाउने निर्णय गर्नुभएको थियो । त्यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको हो । त्यो माइन्युटिङ भएको छ । त्यो मान्ने कि नमान्ने ? ६ महिनामा महाधिवेशन गर्न नसक्ने, साढे चार वर्षसम्म पदमा बसिरहने ? साढे चार वर्षसम्म केही नगर्नेले फेरि पदमा दाबी गर्न मिल्छ ? हामी मात्र तरुण हांै भन्ने लागेको छ उहाँहरूलाई । रुकुम, रोल्पा, ताप्लेजुङका साथीहरूको भावनालाई उहाँहरूले बुझ्ने कि नबुझ्ने ? आफू मात्रै बस्ने, आफू मात्र खाने उहाँहरूको सोच छ ।

० भदौ मसान्तसम्म सबै जिल्ला अधिवेशन भइसक्छ त ?
– भइसक्छ । दुई-चार जिल्लामा छुटफुट होला । २०५७ सालमा बालकृष्ण खाँणको पालामा ६-७ वटा जिल्ला अधिवेशन हुन सकेन । आधा दर्जन जिल्ला अधिवेशन नहँुदा पनि केन्द्रको निर्देशनअनुसार महाधिवेशन भयो । केन्द्रले तोकेको समयमा जिल्ला अधिवेशन नगर्ने जिल्लाहरूले महाधिवेशनमा भाग लिन पाउँदैनन् । महाधिवेशनमा भाग लिन केन्द्रले तोकेको समयमा जिल्ला अधिवेशन सम्पन्न गर्नै पर्छ ।

० त्यसो भए दुई÷चारवटा जिल्ला अधिवेशन नभए पनि महाधिवेशन निश्चित मितिमै हुन्छ होइन ?
– तरुण दलको विधानमै ५१ प्रतिशत जिल्ला अधिवेशन भए केन्द्रीय महाधिवेशन हुने उल्लेख छ । सबै जिल्ला अधिवेशन गराऔं भनेर नेताहरूले निर्देशन दिनुभएको छ । त्यसलाई पनि हामीले शिरोधार्य गर्नुपर्छ ।

० जिल्ला अधिवेशन नभएको जिल्लामा भागबन्डाबाट प्रतिनिधित्व चयन हुने भयो होइन ?
– त्यस्तो हँुदैन । नेविसंघमा जस्तो गर्नु हँुदैन । तरुण दलमा दुई किसिमको सदस्य हुन्छन् । एउटा साधारण सदस्य, अर्को पूर्णकालीन सदस्य । पूर्णकालीन सदस्य नभएको व्यक्ति गाउँ, क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन पाउँदैन । गाउँबाट क्षेत्र, क्षेत्रबाट जिल्ला, क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुन पूर्णकालीन सदस्य हुनै पर्छ । पूर्णकालीन नभएको व्यक्ति क्षेत्रीय प्रतिनिधि पनि हुन पाउँदैन । त्यो व्यक्ति महाधिवेशनमा उम्मेदवार हुन पाउँदैन ।

० विवादित जिल्लाको प्रतिनिधित्व नै नगर्ने त ?
– त्यो हँुदैन । अधिवेशन नभएका जिल्लाको पछि आउने केन्द्रीय समितिले गर्छ । अहिले भागबन्डाबाट प्रतिनिधि चयन गर्ने काम गर्नु हँुदैन ।

० पार्टी सभापति तोकिएको समयमा महाधिवेशन गराउने पक्षमा हुनुहुन्छ ?
– हो, उहाँ तोकिएको समयमा महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा प्रस्ट हुनुहुन्छ । उहाँले तदर्थ समितिका सदस्यहरूलाई ‘यदि तपाईहरूले तोकिएको समयमा महाधिवेशन गराउन सक्नुभएन भने म विघटन गर्दिनँ, तर तपाईहरूले राजीनामा दिनुपर्छ’ भन्नुभएको छ । त्यतिखेर उहाँहरूले नैतिकताको आधारमा राजीनमा गर्नुपर्छ ।