१२ बैशाख २०८१, बुधबार
Follow Us

‘स्वास्थ्यकर्मीहरु किन हजारौं व्यक्तिको मृत्युको कारण बन्दैछन् ?’

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार १४:३७

काठमाडौं । प्रतिनिधिसभामा सोमबारदेखि सांसद र विभागीय मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सेसन सुरु भएको छ । सांसद र मन्त्रीबीच पहिलोपटक भएको प्रत्यक्ष प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बजेटमा विपन्न विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर उच्च प्राविधिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत शैक्षिक कर्जा दिने घोषणा कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेका थिए ।

सांसद गौतमको प्रश्नमा तत्काल जवाफ दिन सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई निर्देशन दिए । योसँगै सोमबारदेखि प्रश्नोत्तर सेसन सुरु भएको हो । सांसदहरु तेजुलाल चौधरी, प्रेम सुवाल, विरोध खतिवडा र अमरेशकुमार सिंहले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, छात्रवृत्ति, निःशुल्क शिक्षालगायतका विषयमा मन्त्री पोखरेलसँग प्रश्न गरेका थिए ।

सांसदहरुको प्रश्नको जवाफमा मन्त्री पोखरेलले उच्च प्राविधिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत शैक्षिक कर्जा दिनेबारे मन्त्रालयले कार्यविधि तयार पारिसकेको र यही आर्थिक वर्षको पहिलो चौमासिकदेखि कार्यान्वयन हुने जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थालाई ऋण दिने दिशामा ल्याउन अर्थ मन्त्रालयसँग संयोजन भइरहेकोसमेत जानकारी दिए ।

सभामुख महराले प्रश्नोउत्तर सेसन सन्चालनकै लागि विशेष समय कटौती गरेका थिए । ‘स्वास्थ्यकर्मीहरु किन हजारौं व्यक्तिको मृत्युको कारण बन्दैछन् ?’ प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले शान्ति–सुरक्षा कायम गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको भएपनि सरकारविरुद्ध घेराबन्दी भएको आरोप लगाए ।

स्वास्थ्यकर्मीको आन्दोलनप्रति लक्षित गर्दै उनले ‘स्वास्थ्यकर्मीहरु किन हजारौं व्यक्तिको मृत्युको कारण बन्दैछन् ?’ भनी प्रश्न गरे । यस्तै, सांसद उमा रेग्मीले नेपालको राष्ट्रिय पोसाकमा पुरुषका लागि दौरा सुरुवाल र महिलाका लागि साडीचोलो बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।