१२ बैशाख २०८१, बुधबार
Follow Us

सहयोगको वातावरण बनाउन छिमेकको भ्रमण : अध्यक्ष प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार १४:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ ।

आफ्नै निवास खुमलटारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताउनुभयो ।

“दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ ।” उहाँले भन्नुभयो, “अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालीका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।” अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जान लाग्नुभएको छ ।

भदौभित्रै पार्टी एकता
अध्यक्ष दाहालले पार्टी एकताको सम्पूर्ण काम यही भदौ मसान्तसम्म पूरा गर्ने अभियानमा लागेको बताउनुभयो । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलहरुले प्रतिवेदन बुझाई सकेको बताउँँदै अध्यक्ष दाहालले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुङ्गो लगाउने बताउनुभयो । “तल्ला समितिमा कुनै समस्या भएर एकीकरणमा ढिलाई भएको होइन ।”

उहाँले भन्नुभयो, “एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुको समेत व्यवस्थापन गर्ने गरी यसको टुङ्गो यही महिनाभित्र लगाइने छ ।” स्थानीय तहसम्मको पार्टी एकतापछि पार्टीले नयाँ गति लिनेसमेत उहाँको भनाइ छ ।

सरकारको कामबारे गम्भीर समीक्षा शुरु
सरकारको भूमिकाबारे जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा जोड दिनुभयो । “जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुवैै अध्यक्ष गम्भीर छौं ।”

अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आम जनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढङ्गले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुनेछ ।”

अध्यक्ष दाहालले समीक्षाबाट प्राप्त निष्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा ठोस कदम चालिनेसमेत बताउनुभयो ।

अभ्यास नपुग्दा समस्या
पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताउनुभयो ।

देशमा विगतको संरचना नरहेको र नयाँ सङ्घीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने स्पष्ट पार्नुभयो । करका विषयमा पछिल्लो समय उठेको विवाद र समस्याको समाधानका लागि समेत सरकार गम्भीर रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि सङ्घर्ष चर्किने बताउँदै स्थानीय तहहरुमा केही समस्या देखिए पनि कैयन सकारात्मक पक्षसमेत रहेको बताउनुभयो । स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौँ भन्ने भावनाको विकास भएको छ । यसको परिणाम दीर्घकालमा देखिने स्पष्ट पार्नुभयो ।

सरकार र संरचनाबारे पूरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकोमा अध्यक्षले विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो सङ्घीयता, समानुपातिक समावेशिलगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ ।”

सामाजिक मूल्यमा ह्रासप्रति चिन्ता
अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ । सरकार या नेता विचलन भए त अरू खोजाँैला तर समाज नै विचलन भएर स्खलित भए त्यो माथि उठाउन निकै गा-हो पर्छ ।”
–रमेश लम्साल