१३ बैशाख २०८१, बिहीबार
Follow Us

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अन्तक्र्रिया कार्यक्रम सम्पन्न;बागलुङका मात्र ३० वटा उजुरी

sarusaru
२० भाद्र २०७५, बुधबार ०३:४७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले पदीय जिम्मेवारी बहन गर्ने सबैले पारदर्शीता र जनताको सेवा गर्ने भावना राख्नुपर्ने बताएका छन् । आयोगले सोमबार बागलुङमा आयोजना गरेको एक अन्तरक्रियामा कुनैपनि सेवाग्राहीले गुनासो गर्ने अवसर नदिन कर्मचारीलाई निर्देशन पनि दिए । उनले हरेक कर्मचारीले दिने सेवामा फरक पर्दा आउने उजुरीप्रति सचेत रहन पनि आग्रह गरे । दाहालले हरेक कार्यालयका प्रमुखले जिल्ला छाड्दा प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्ने र अन्य कर्मचारीको पदीय आचरणबारे समय समयमा ध्यान दिन्पर्नेमा जोड दिएका थिए । अनुगमन तथा अन्तरक्रिया कार्यक्रम लिएर आएका दाहालले बागलुङका झण्डै ३० वटा उजुरी आएपछि कार्यक्रम लिएर आएको बताए । हाल अख्तियारमा बागलुङका मात्र ३० वटा उजुरी रहेको बताए । ‘यो उजुरी अन्य जिल्लाको भन्दा कम हो, तर उजुरी आउने वातावरण अन्त्यका लागि कर्मचारीहरुको भूमिका ठूला छ ।’ उनले भने, ‘आर्थिक अनियमितता मात्र नभई नीति र कार्यक्रमको रुपमा भएका कमजोरी र अनियमितताले पनि जनतामा नराम्रो असर परेको हुन्छ ।

’ त्यस्ता बिषयमा सचेत रहनुपर्ने उनले आग्रह पनि गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्लाका हालसम्म गरेका कार्यक्रमबारे जानकारी गराएका थिए । साथै उनले आम सेवाग्राहीको सम्मान हुने गरी काम गर्न थालेको पनि बताए । सोमबारको कार्यक्रममा केही कार्यालय प्रमुख नआएपछि उनीहरुले बिदा र अनुमति लिए नलिएकोबारे खोजी भएको थियो । उक्त अवसरमा आयोगको अनुगमनमा पदमा बसेर अधिकार दुरुपयोग गर्ने क्रम बढेको देखिएको उपसचिव पिताम्बर भण्डारीले बताए । भण्डारीले पोखरामा परेका उजुरीको तथ्यांक समेत दिएका थिए । पोखरा कार्यालयमा परेका ७ सय ३३ उजुरीमध्ये झण्डै ३ सय कास्कीकै भएको उनले जानकारी दिए । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारी, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद सुवेदी, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेजप्रसाद निउरे, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका प्रमुख कपिलराज पाण्डे लगायतले बोलेका थिए ।