१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल–चीन पारबहनसम्बन्धी बैठक सुरु

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार ०७:४३

काठमाडौं । नेपाल–चीन पारबहन यातायात सम्झौताको ‘प्रोटोकल’ लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक काठमाडौँमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबिचको व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारहरुबिच तेस्रो पटक बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पारबहन यातायात सम्झौताको प्रोटोकललाई असोज १५ गते भित्र टुंग्याई सक्ने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका हुन ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले गर्नु भएको छ भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गर्नु भएको छ ।

बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको रुपमा सन् २०१६ मा केपी ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबिच पारबहन यातायात सम्झौता गर्ने सहमति गरिएको थियो । सोही सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिव स्तरीय बैठक सुरु गरिएको हो ।

दुई दिनसम्म चल्ने बैठकले सो सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैँजुले जानकारी दिनु भयो ।