६ चैत्र २०८०, मंगलवार
Follow Us

आफू पीडित भएको पुरुषहरू भन्न सक्दैनन्

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार १५:०३

पुनम सिंह चन्द, अधिवक्ता, कञ्चनपुर
निर्मला हत्याकाण्डले यतिबेला कञ्चनपुर चर्चामा छ । महिना दिन बितिसक्दा पनि अभियुक्त प्रहरीले सार्वजनिक गर्न सकेको छैन । कञ्चनपुरका जनताले हत्यारा पत्ता लगाउन आन्दोलन नै छेड्नु परेको थियो । सरकारले छानबिन समिति गठन गरेपछि आन्दोलन मत्थर भएको छ । नागरिक समाज जिल्ला संयोजक हुनुको नाताले अधिवक्ता पुनमसिंह चन्दले यो घटनालाई नजिकबाट नियालिरहेकी छन् । वास्तविक घटना के हो ? अब निर्मलाको परिवारले कसरी न्याय पाउलान भन्ने विषयमा अधिवक्ता चन्दसँग कुमार राउतले गरेको कुराकानी–

० कञ्चनपुर आन्दोलन केका लागि ?
– १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्यारा खोजिदेऊ, पीडितलाई न्याय देऊ भनेर कञ्चनपुरका जनता स्वस्फुत प्रहरी प्रशासनविरुद्ध सडकमा आएका हुन् । हत्या भएको महिना दिनसम्म पनि घटनाको अनुसन्धान गर्ने प्रहरीले चासो नदेखाएपछि जनता आन्दोलित भएका हुन्, उनीहरूको कुनै अरू माग थिएन ।

० आशंका गरेको स्थानमा प्रहरीले अनुसन्धान गरेन ?
– हो, साउन १० गते घरबाट निस्केर निर्मला रोशनी बमको घरमा गएकी थिइन् । रोशनी निर्मलाकी सहपाठी हुन्, रोशनीले नै बोलाएर निर्मला त्यो घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी बस्थिन् । निर्मला र त्यो घरको दूरी दुई किमि मात्र हो ।

० रोशनीको घरलाई आशंका गर्नुपर्ने कारण ?
– जुन घरमा निर्मला गएकी थिइन्, त्यहीबाट उनी हराएकी थिइन् । निर्मला घर नफर्केपछि आमा दुई पटक रोशनीको घरमा पुगेकी थिइन् । त्यो घरबाट निर्मला फर्किएको कसैलाई थाहा छैन । घरअघिको अम्बाको रूख काटिनुका साथै घर पेन्टिङ गरिएको छ । रोशनी र उनकी दिदीको व्यवहार, शंकास्पद गतिविधि र त्यो घरमा प्रहरीले अनुसन्धान गर्न बेवास्ता गर्नुले सर्वसाधारणमा आशंका उत्पन्न गराएको छ ।

० निर्मलाको लास कसरी भेटियो ?
– २ बजे घरबाट निस्केकी निर्मलालाई खोज्दै आमा बेलुका ५ र रातको ८ बजे दुई पटक रोशनीको घरमा पुगिन् । ५ बजे रोशनीको घर पुग्दा उनकी दिदीको रूखो व्यवहार थियो । तिम्रो छोरी पोइला गइहोला उतै खोज्नु यहाँ नआउनू भन्ने जवाफ फर्काएकी थिइन् । ८ बजे चाहिँ प्रहरीमा समेत निर्मला हराएको जानकारी गराइएको थियो । प्रहरीले खोज्ने कुनै चासो देखाएन । भोलिपल्ट उखुबारीमा निर्मलाको साइकल भेटियो । लास पनि त्यतै होला भन्ने जवाफ रोशनीकी दिदीले निर्मलाकी आमालाई दिएकी थिइन् । अचम्म त के छ भने लास भेटिएपछि पनि घटनास्थल प्रहरीले सिल गरेन । लास भनेपछि मान्छेहरू आए, प्रमाण मेटाउने प्रयास त्यसैबेलादेखि नै भयो । त्यसपछि नै स्थानीय महिलाहरू आन्दोलित भएका हुन् ।

० त्यसबेला नै अनुसन्धानका लागि दबाब दिनुभएन ?
– हामी नागरिक समाज र मानवअधिकारकर्मीहरूले घटनालाई नजिकबाट नियालिरहेका थियौं । चार दिनसम्म लास अस्पतालमै राखियो । हामीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दबाब दिन धर्ना दिइरहेका थियौं । जुन घरबाट निर्मला हराएकी हुन्, त्यहाँ अनुसन्धान हुनुपर्छ भन्यौं । तर प्रहरी प्रमुखले घटनासँग त्यो घरको सरोकार छैन भन्दै टाढिए ।

० अभियुक्त प्रहरीले सार्वजनिक गरेको थियो त ?
– घटना भएको २६औं दिनमा प्रहरीले पत्रकार सम्मेलन गरेर नक्कली अभियुक्त सार्वजनिक ग¥यो । प्रहरीले अभियुक्त भनेका व्यक्ति मानसिक रोगी हुन् । उनको स्वास्थ्य जाँचका लागि काठमाडौं पठाइएको छ ।

० अनुसन्धानका लागि सीबीआईको टोली गएको थियो ?
– डीएसपी अंगुर जोशीको नेतृत्वमा एउटा टोली कञ्चनपुर आयो, तर त्यो टोलीले कुनै नयाँ कुरा पत्ता लगाउन सकेन । तिनै मानसिक रोगी दिलीपसिंह विष्टलाई अभियुक्त बनायो । यी सबै नियोजित ढंगले प्रहरी प्रस्तुत भएको थियो भन्न हिचकिच्चाउनु पर्दैन ।

० सरकारले अनुसन्धानका लागि छानबिन टोली गठन ग-यो नि ?
– हो, १५ दिनको समयसीमा दिएर सरकारी छानबिन टोली गठन भएको छ । प्रहरी प्रमुख निलम्बनमा परेका छन् । सीडीओ नयाँ आएका छन् । कफ्यु बन्द भएको छ । जनजीवन सामान्य बन्दै गएको छ । नयाँ शिराबाट अनुसन्धान हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

० छानबिन टोलीसँग विश्वस्त हुन सकिएला ?
– होला भन्ने कुरामा आशावादी छौं । प्रमाण नष्ट भएको अवस्थामा त्यत्ति सजिलो चाहिँ छैन । यद्यपि जुन घरबाट निर्मला हराएकी हुन्, त्यो घरका दिदीबहिनीलाई नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

० निर्मला गएको घरमा प्रहरीले अनुसन्धान नगर्नुको कारण ?
– सुन्नमा त धेरै कुरा खाएका छन्, तर प्रमाणको अभावमा हामीले बोल्नु हुँदैन । पहिले प्रहरीले कल डिटेल, इमेल फेसबुक सबै ह्याक भयो भनेको थियो, तर होइन रहेछ । छानबिन टोली निष्कर्षमा पुग्ला, त्यसपछि सबै कुरा बाहिर आउँछ भन्ने कुरामा हामी आशावादी छौं ।

० अपराधी फेला पर्ला ?
– तत्काल फेला नपरे पनि पाशविक घटना भएको छ, एक दिन यसको रहस्य खुल्छ भन्ने कुरामा आशावादी हुन सकिन्छ । जस्तो न्यायाधीश रणबहादुर बम हत्याकाण्ड पनि चार वर्षपछि अपराधी पत्ता लागेको थियो ।

० प्रसँग बद्लौं, कति भयो कानुन व्यवसायमा लाग्नुभएको ?
– २०५८ सालदेखि म यो पेसामा छु । काठमाडौंबाट बीएलको अध्ययन सकेर मोफसलमा रहेर पेसामा संलग्न छु ।

० मोफसल कस्तो महिला कानुन व्यवसायीका लागि ?
– मैले कानुन पढ्दा म एकजना मात्र थिएँ, सुरुका दिनमा महिला पनि वकिल हुन्छन् र भन्थे । अहिले पनि कञ्चनपुरमा हामी चार जना मात्र कानुन व्यवसायी छौं ।

० कानुन पढ्न कसले पे्ररणा ग-यो ?
– टीभी अथवा फिल्म हेरेर पे्ररणा लिएकी हुँ । यद्यपि कानुन पढ्नलाई मेरा बुवाबाट नै वातावरण बनाइदिनुभो, पे्ररणा दिनुभयो ।

० बुवा के गर्नुहुन्थ्यो ?
– निर्माण व्यवसायी हुनुहुन्छ । हाम्रो संयुक्त परिवार थियो, एक दिदी र एक बहिनीसहित दुई भाइ थियौं । दिदी गृहणी, बहिनीले आरडीमा डिग्री लिएर एलएलबी पढ्दै छिन् ।

० कस्ता मुद्दाले प्राथमिकता पाउँछ ?
– मलाई महिलाको वकिल भन्छन् । महिलाका मुद्दा निःशुल्क हेर्दिन्छु । विशेषतः महिला हिंसा, डिर्भोस, अंश र मानाचामलको मुद्दा मकहाँ आउँछन् ।

० अधिकांश मुद्दामा पुरुष नै दोषी हुन्छन् ?
– महिला पनि दोषी हुन्छन्, यद्यपि महिलाको तुलनामा पुरुष कमै पीडित पाइएको छ । पुरुषप्रधान समाज भएकाले आफू पीडित भएको पुरुषहरू भन्न सक्दैनन् ।