१५ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्रिमन्डल पुनर्गठनको तयारी, प्रधानमन्त्रीका विश्वास पात्र ‘असक्षम’

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार १५:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुर्नगठनको तयारी गरेका छन् । केही मन्त्रीको कार्यक्षमता सन्तोषजनक हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । तर, मन्त्रिमन्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारीलाई राजनीतिक वृत्तमा भने सकारात्मकरुपमा लिइएको छैन ।

गत फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठनको तयारी गरेका हुन् । हुन त प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुबाट प्रभावकारी कामको आशा गरेर नै मन्त्री बनाएका हुन् । तर, विश्वासपात्रहरुले प्रधानन्त्री ओलीको अपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको घामझैं छर्लंग छ ।

मन्त्रीहरुको कार्यक्षमतामा सर्वसाधारण र पार्टीभित्रैबाट प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका हुन् । सत्तारुढ दलका शीर्ष नेताहरुले औपचारिकरुपमा मुख नखोले पनि अनौपचारिकरुपले मन्त्रिमन्डल पुर्नगठनबारे छलफल गरिरहेका छन् । पार्टीभित्र छलफल गरेर सकेसम्म असोज पहिलो साता वा असोज मसान्तभित्र मन्त्रिमन्डलमा हेरफेर गर्ने तयारी भइरहेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि आसन्न स्थायी समितिको बैठकबाट मन्त्रिमन्डल पुर्नगठनको निर्णय हुने दाबी गरेका छन् । संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीले आफू मातहतका मन्त्रीहरु हेरफेर गर्नु सामान्य मानिन्छ ।