१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७५, शुक्रबार ०५:३३

काठमाडौँ । नेपाललाई तेश्रो मुलुकबाट सामान आयातका लागि आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत भएको छ । दुई देशका उच्च सरकारी अधिकारी बीच बिहीबार बेलुकी चीन हुंदै तेस्रो मुलुकबाट सामान आयात गर्दा सामुन्द्रीक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको हो ।

नेपाल र चीनबीच सन् २०१६ मा व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनका लागि काठमाडौंको तेस्रो बैठकमा सम्झौता भएको हो । सामुन्द्रिक तथा सुख्खा बन्दरगाह, ती बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायत पारवहन सम्बन्धी विभिन्न विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयले जनाएको छ ।

सम्झौतासँगै तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतीय बन्दरगाह प्रयोग गर्नैपर्ने बाध्यत्मक अवस्थाको समेत अन्त्य भएको मन्त्रालयको भनाइ छ । नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले आफूलाई अनुकुल हुने गरी चीनका जुनसुकै बन्दरगाह प्रयोग गर्न बाटो खुल्ला भएको छ । नेपालले अब तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी खर्च समेत कम हुने छ ।

साथै निर्यातका लागि पनि चीनको बाटो खुल्ला भएको छ । नेपाल र चीनबीच सन् दुई हजार १६ मा व्यापार तथा पारवहन सम्झौता भएको थियो । दुई वर्ष अघि भएको सोही सम्झौता कार्यान्वयनका लागि काठमाडौंमा तेस्रो बैठकको आयोजना गरिएको हो । बैठकमा नेपालका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैंजुले र चीनका तर्फबाट यातायात सेवा विभागका महानिर्देशक वाङ सुपिङले गरेका थिए ।