१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि : छानबिन समिति

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७५, शुक्रबार १५:३८

भीमदत्तनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्याको घटना छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन चाँडै नै सरकारलाई बुझाउने जनाएको छ ।

समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।

घटनास्थलमा पुगेका प्रहरी टोलीको गम्भीरता नदेखिएको अनुसन्धानका क्रममा पाइएको छ, छानबिन समितिका संयोजक मैनालीले भन्नुभयो, “जिम्मेवार प्रहरी अधिकारीबाट घटना छानबिनमा बेवास्ता देखिएकाले हामीले यहाँ आएकै दिन कञ्चनपुर प्रहरी प्रमुखलाई निलम्बन गर्न सरकारलाई सिफारिश गरेका थियौँ ।”

संयोजक मैनालीले समितिलाई दिएको पन्ध्र दिनको म्याद आज सकिँदै गरेको भए पनि आवश्यकताअनुसार म्याद थप हुन्छ भन्दै निलम्बन गरिएका र केन्द्रमा फिर्ता बोलाइएका प्रहरी अधिकृतसंग पनि घटनाबारे सोधपुछ गर्नुपर्ने काम बाँकी रहेको बताउनुभयो ।

“तीन-चार दिनभित्रै हामी घटनाको सत्य, तथ्य र अनुसन्धान विवरणसहित गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्छौंं”, उहाँले भन्नुभयो, “घटना अनुसन्धानमा प्रहरीको कमीकमजोरी देखिएका छन् ।”

संयोजक मैनालीले अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम पनि गरेको छानबिनका क्रममा देखियो भन्दै यी सबै विवरणसहित यथार्थ प्रतिवेदन मन्त्रालयलाई बुझाउँछौँ ।”

“हामीले तथ्य सङ्कलन र विभिन्न पक्षसित समन्वय गरेर काम ग-यौँ”, उहाँले भन्नुभयो, घटना छानबिनका क्रममा स्थानीय र नागरिक समाजलगायत सबै पक्षबाट सहयोग प्राप्त भएको छ ।” गत भदौं ८ गते सो समिति भीमदत्तनगर आइपुगेको थियो । केहीदिन भित्रमा प्रतिवेदन तयार हुने पनि संयोजक मैनालीले बताउनुभयो ।

बालिका निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको शव साउन ११ गते विहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीसमेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।