१३ बैशाख २०८१, बिहीबार
Follow Us

विद्युत् उत्पादनमा भारतसँग सहकार्य गर्न इच्छुक : अध्यक्ष दाहाल

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७५, शनिबार ०६:४०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताउनुभएको छ ।

भारत भ्रमणमा रहनुभएका उहाँले साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।”

जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष दाहालले यो पानी व्यवस्थापनको विषय पनि भएको उल्लेख गर्नुभयो । सरगमाथाबाट मिनरल वाटर बनाउनका लागि सहकार्य गर्न सकिने दोहो-याउँदै उहाँले सगरमाथाको पानी विश्व बजारमा पु-याएर लाभ लिन सकिन्छ भन्नुभयो ।

नेपालमा पर्यटन विकासको पनि उत्तिकै सम्भावना रहेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योग, धार्मिक पर्यटनलगायतका क्षेत्रमा लगानी गरी प्रतिफल लिन पनि सकिने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका लगानीकर्ताको उल्लेख्य सहभागिता थियो ।