७ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७५, शनिबार ११:१३

गोरखा । गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना नरहेको बताउनुभएको छ । २० आँै वासु स्मृति दिवसमा सहभागी हुन आज गोरखा आइपुग्नुभएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताउनुभएको हो ।

बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन, गृहमन्त्री थापाले भन्नुभयो, “यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।”

सरकारले छ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले समयमा विकास निर्माणका काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सरकार लागिपरेको बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “ठेकेदारलाई कारवाही गर्न सरकार पछि हटेको भन्ने होइन, अहिले पहिलेको तुलनामा ठेकेदारले काम गरिरहेका छन्, उनीहरुको कामबाट सुरक्षा हिसाबले समस्या भए जोसुकैलाई कारवाहीको दायरामा ल्याउँछौँ ।” उहाँले जनताले विकास आर्थिक समृद्धि, सुशासन र स्थायित्वका लागि दिएको जनादेशलाई सरकारले इमान्दारीपूर्वक निर्वाह गर्र्दै आइरहेको बताउनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ लक्षित गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “अहिले केही तत्वहरुले सङ्घीयता कार्यान्वयन हुन नदिन, समाजमा अराजकता मच्चाउन लागिपरेका छन्, तिनीहरुलाई पनि नियन्त्रणमा ल्याइसकेका छौँ ।”

गृहमन्त्रीले आजै जिल्लास्थित सुरक्षा समितिको बैठकमा जिल्लाभित्रको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले आजै निर्माणाधीन गोरखाको ऐतिहासिक तथा धार्मिकस्थल गोरखाकाली मन्दिरको अवलोकन गर्नुका साथै भूकम्पपछि निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभयो । भूकम्पको केन्द्रबिन्दु बारपाकको अुनगमनका लागि जाने गृहमन्त्री थापाको कार्यक्रम रहेपनि मौसम खराबीका कारण त्यहाँ हेलिकप्टर ओर्लन नसकेपछि सिधै सदरमुकाम आउनुभएको थियो ।