१५ चैत्र २०८०, बिहीबार
Follow Us

मन्त्रिमण्डल पुनर्गठनबारे दाहाल र ओलीको फरक विचार !

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०७५, आईतवार १४:५८

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएको छ । पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाललगायतका केही नेताले मन्त्रिमण्डल पुनर्गठन हुने बताईरहँदा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले भने पुनर्गठनको सम्भावना नरहेको जिकिर गरेका छन् ।

दाहालले भारत भ्रमण जानुअघि आफ्नै निवास खुमलटारमा आफू निकट केही पत्रकारसँगको अनौपचारिक भेटघाटमा छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुने जानकारी दिएका थिए । उनले मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भइरहेको दाबीसमेत गरेका थिए ।

दुई जना शीर्ष नेताबीच मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले पनि पुष्टि ग-यो । यो विषयमा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकार पुनर्गठनको तयारी भइरहेको दाबी गरेका थिए । भारत भ्रमण गरेर स्वदेश फर्किएका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भनाईले पनि मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको पुष्टि हुन्छ ।

तर, प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा आएका र उनकै पार्टीका जिम्मेवार नेताले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । शनिबार एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन खोज्नेले मन्त्री हेरफेरको हल्ला चलाएको आरोप लगाए ।

यदि प्रधानमन्त्री ओलीको यो भनाइलाई सत्य मान्ने हो भने मन्त्रिमण्डल पुनर्गठनको तयारीबारे किन र कसले कुरा उठायो ? मन्त्रिमण्डल पुनर्गठनका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीभन्दा बढी जिम्मेवार व्यक्ति को हो ? मन्त्रिमण्डल पुनर्गठनको तयारी नभएको भए किन यो विषयमा प्रधानमन्त्री निवासले छलफल भएको भन्दै पुष्टि ग-यो ?