१५ चैत्र २०८०, बिहीबार
Follow Us

पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान घोषणा

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार ०६:०१

काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले वि.सं.२०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति यारलाई र ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा. तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

‘पद्मश्री साहित्य पुरस्कार’वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक साहित्यिक कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ । यारमा आफ्ना निकट साथीहरुका माध्यमबाट नेपाली समाज, साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसहरुको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ ।

साथै लेखकले आफ्ना सीमा सहित मित्रताको मूल्य तथा मान्यतालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरेका छन् । डा. तारानाथ शर्मा विगत छ दशकदेखि नेपाली नियात्रा, निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिएका व्यक्ति हुन् । उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियन्ता पनि हुन् ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं.२०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएकोमा २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । वि.सं.२०६७ सालखेखि नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई ‘पद्मश्री साधना सम्मान’ अर्पण गर्दै आएको छ ।