१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोरखाबाट पनि हुन थाल्यो सुन तस्करी

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार १५:०६

गोरखा । रसुवा नाकामा सुरक्षा जाँच कडा हुन थालेपछि गोरखाको उत्तरी नाका हुँदै नेपालमा सुन तस्करी हुने गरेको खुलेको छ । शनिवार गोर्खाको साम्दोवाट १० किलो सुन सहित दुई जना पक्राउ परेपछि नयाँ वाटो हुँदै सुन तस्करी हुने गरेको खुलेको हो ।

पक्राउ परेका चुमनुब्री गाउँपालिका ७ छेकम्पारका छिरिङ्ग ङटुप लामा र लोप्चन तेन्वेललाई सोमबार सार्वजनिक गर्दै गोर्खा प्रहरीले नयाँ रुटवाट सुन तस्करी शुरु भएकाले थप सुरक्षा सतर्कता अपनाइएको जानकारी दिएको छ ।

गोर्खा प्रहरीले सुन बरामद गर्ने सिर्दिवास प्रहरी चौकीका प्रहरी नायव निरिक्षक तुलवहादुर सेनालाई २१ सय नगद सहित पुरस्कृत समेत गरेको छ । पक्राउ पर्नेले आफुलाई भरिया मात्र भएको र पचास हजार नेपाली रुपैया पाउने आशामा सुन बोकेको प्रहरीलाई बयान दिएका छन् ।

तिब्बतको जोंगा बजारवाट मनाङ्गबाट लमजुङ्ग पुगेको सुन समातिएपछि तस्करहरुले पछिल्लो समय गोर्खा हुँदै काठमाडौंसम्म सुन तस्करी गर्ने गरेको खुलेको हो । यसअघि सिन्धुपाल्चोक, रसुवा र लमजुङहुँदै सुन तस्करी हुने गरेको पाइएको थियो । सुन बरामद भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी सीमा क्षेत्रको सुरक्षा चुनौती थपिएको भन्दै नयाँ सुरक्षा पोष्ट खडा गर्न सरकारसँग माग गरेको छ ।