१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चेक रिपब्लिकमा नेपालीले छुरा प्रहार गर्दा एकको मृत्यु

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७५, सोमबार २३:३७

बसन्त रानाभाट । बार्सिलोना । चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । जर्मनी स्थित नेपाली दूताबासका अनुसार मृतकले काम गरिहेको कम्पनी एक जना नेपालीको मृत्यु भएको पुस्टि गरेको हो ।

जर्मनी स्थित नेपाली राजदुत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको पूर्ण विवरण आइसकेको छैन ।’

मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । तर, प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।

चेक रिपब्लिकको अनलाइन मिडिया नोभिन्की सीजेटले भने शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरुबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

उसले लेखेको छ, ‘घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ, उनी खतरा मुक्त छन् । फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकका पूर्वअध्यक्ष छत्र अधिकारी आइतबार घटनास्थलमा नै पुगे । सोहि कम्पनीमा कार्यरत अन्य नेपालीहरुसँग कुराकानी गरेपछि उनीहरुकै भनाइलाई उदृत गर्दै अधिकारीले भने, ‘झगडा गर्नु अघि मदिरा पिएका थिए, आपसमा भनाभन हुँदै गयो । त्यसपछि बोतल हुँदै छुरीसम्म प्रहार भयो । मृतकले झगडालाई शान्त पार्न कोशिस गरेका थिए तर, उनलाई नै छुरी लागेछ ।’

उनीहरु चेकरिपब्लिकस्थित सानो गाउँ जिजेलिछेमा रहेको कम्पनीमा काम गर्थे । कम्पनीले कामदारहरुका लागि एक होस्टल उपलब्ध गराएको थियो, जुन कम्पनीबाट २० मिनेटको पैदलदुरीमा छ ।

घटनाका दोषीलाई ८ देखि १६ बर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्राबधान रहेको समेत नोभिन्की सीजेट अनलाइन मिडियाले जनाएको छ