१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्रीले उद्घाटन गरेको गोवरग्यास प्लान्ट बन्द

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७५, मंगलवार ०७:२१

विराटनगर । तामझामका साथ प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेको विराटनगरस्थित गौशालाको गोवरग्यास प्लान्ट सञ्चालनमा आएको दुई साता नबित्दै विग्रिएको छ । जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा रहेको गोबर ग्याँस प्लान्ट एक सातादेखि बन्द भएको हो ।

भदौ ५ गते प्रधानमन्त्री केपी ओलीले सिलिण्डर युगको अन्त्य भएको घोषणा गर्दै उदघाटन गरेको विराटनगरस्थित गोबरग्यास प्लान्ट सञ्चालनमा आएको दुई सातामै बिग्रिएको हो । दुई साता अघि गोवरग्याँस घर घरमा आएपछि दंग परेका विराटनगर महानगरपालिका १४ जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनका बासिन्दा ग्यास उत्पादन रोकिएपछि निरास भएका छन् । उद्घाटन गरेको १५ दिन नवित्दै सो ग्यास प्लान्ट विग्रिएपछि स्थानीय खिन्न भएका हुन ।

हतारमा उदघाटन गरिए पनि प्लान्टलाई लामो समय टिकाउनका लागि ध्यान नदिएकै कारण सञ्चालनको केही दिनमै बन्द हुन पुगेको स्थानीयको गुनासो छ । प्राविधिकहरुले भने बारम्बारको लोडसेडिङ र इन्भर्टर किन्नका लागि आर्थिक अभाव लगायतका कारण प्लान्ट बन्द हुन पुगेको बताएका छन् ।

गौशालामा रहेका दुई सय पाँच गाईको गोवरवाट तीन सय घनमिटर क्षमताको ग्यास प्लान्ट निर्माण गरिएको थियो । सरकारी लगानीमा निर्माण भएको प्लान्ट बन्द भएपछि ग्यास उत्पादक पनि निरास भएका छन ।

विग्रिएको ग्यास उत्पादन केन्द्रमा अहिले मर्मतको काम भैरहेको छ । तर अहिलेसम्म त्यो सकिएर पुन ग्यास उत्पादन हुने हो निश्चित भैसकेको छैन । करिब १ करोड ५० लाखको लागतमा डेढ बर्ष अघि सुरु गरिएको गोबर ग्यास प्लान्टबाट पहिलो चरणमा ३२ घरमा ग्यास बितरण गरिएको थियो । यसलाई दोस्रो चरणमा एक सयभन्दा बढि घरमा पु-याउने योजना थियो ।
– गोपाल पोखरेल