८ बैशाख २०८१, शनिबार
Follow Us

सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने कांग्रेसको तयारी

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७५, बुधबार १०:०७

काठमाडौं । नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको संख्या बढाउँदै कम्तीमा सात तहको संरचना बनाउने भएको छ । मुलुक संघीय संरचनामा गइसक्दा पनि पूरानै ढर्रामा चलिरहेको नेपाली कांग्रेसले अब भने पार्टी संरचनामा आमूल परिवर्तन गर्ने तयारी गरेको हो ।

आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदामा कांग्रेसले थुप्रै नयाँ विषय समेट्ने तयारी गरेको छ । विधानमा सुझाव लिन पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार पार्टी कार्यालयमा बसेको थियो । सातै प्रदेशमा दुई/दुई समूह बनाएर सुझाव लिने तयारी पनि कांग्रेसले गरेको छ ।

हरेक विषयमा दुई/तीन समूहमा विभाजित हुने कांग्रेस नेताहरु पदाधिकारी र केन्द्रीय समिति थप गर्ने प्रस्तावमा भने एक देखिएका छन् । ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १३१ सम्म पुर्‍याउने विषयमा छलफल चलिरहेको छ । त्यसैगरी, सात सदस्य पदाधिकारीलाई संख्या बढाएर ११ सम्म बनाउने भन्नेमा पनि छलफल हुँदैछ । उपसभापति दुई र सहमहामन्त्री थप्ने विषयमा खासै विवाद देखिएको छैन ।

पार्टीका तल्ला तहले दिएका र केन्द्रीय कार्यालयमा आएका सुझावलाई आधार मानेर शीर्ष नेतृत्वसँग छलफल गरी विधान समितिले असोज २ गतेसम्म प्रारम्भिक मस्यौदा बनाएर बनाउने तयारी छ ।