१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वरिष्ठ हांस्यव्यंग्य कवि शैलेन्द्र सिम्खडा लण्डनमा सम्मानित

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७५, बुधबार ११:४०

लण्डन । धादिङ नुवाकोट समाज यूकेले नेपाल प्रज्ञा प्रतिष्ठानमा विगत २५ वर्षदेखी सेवारत वरिष्ठ हांस्यव्यंग्य कवि शैलेन्द्र सिम्खडालाई लण्डनमा सम्मान गरेको छ ।

सडवरीस्थित हिमलायन क्लबमा संस्थाका अध्यक्ष सीबी लामाको सभापतित्व तथा महासचिव धन पाख्रिनको संचालनमा आयोजित उक्त समारोहमा गायिका मीना लामालाई बिदाई तथा लोकदोहोरी गायिका कला लम्साल र मोडल तथा गायिका सिर्जु अधिकारीलाई समेत सम्मान गरियो ।

संस्थाको तर्फबाट अध्यक्ष सीबी लामा तथा सल्लाहकार एवम् एनआरएनए आईसीसी सदस्य रामशरण सिम्खडाले कलाकारहरुलाई सम्मान गरे ।

समारोहमा श्रष्टा सिम्खडाले धादिङ र नुवाकोटबीचको आपसी सम्बन्धको विविध आयामको बारेमा प्रकाश पार्दै बेलायतमा दुई जिल्ला मिलेर एउटै संस्था बन्नु र त्यसको आयोजनामा यसरी सम्मनित हुन पाउंदा भाषा तथा साहित्यमा लागेको एक जिल्लावासीको नाताले गौरवान्वित महसुस गरेको अनुभुति सुनाए । प्रवासको व्यस्त जिवनशैलीमा समेत मातृभुमीप्रतिको लगाव र त्यहां केही गरौं भन्ने मानवीय भावनाले संगठित साथीहरुको प्रयासको प्रशंसा गर्दै उनले बेलायतमा रहंदा यस समाजसंग पुनः कुनै कार्यक्रमा जोडिने विश्वास समेत व्यक्त गरे ।

कलाकार मीना लामाले आफ्नो बेलायत बसाईको प्रबन्ध मिलाई सहयोग गर्ने समाजप्रति आभार व्यक्त गर्दै भावनात्मक रुपमा संधै यस समाजप्रति कृतज्ञ रहने बताइन् । सम्मानित कलाकारद्वय कला लम्साल र सिर्जु अधिकारी शान्ती नेपाली समाज बर्मिङ्गहमको आमन्त्रणमा बेलायत आएका हुन् ।

कलाकारको सम्मान कार्यक्रममा समाजका उपाध्यक्ष कृष्ण तिमल्सेना, दीप तामाङ, सचिब बुद्धीबहादुर तामाङ, बासु लामिछाने, शंकर केसी, शम्भु केसी, शुदर्शन सिम्खडा, दीपबहादुर गुरुङ लगायत समाजका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।