८ बैशाख २०८१, शनिबार
Follow Us

महिला सङ्घ महाधिवेशनमा बन्दसत्र सुरु

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार ०९:०२

काठमाडौं । नेपाल महिला सङ्घको जारी तेस्रो महाधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र लेखा परीक्षण प्रतिवेदनमा छलफल गरी पारित गरिने भएको छ ।

निर्वाचन समितिले आज १ बजेदेखि उम्मेदवारी दर्ता सुरु गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता, ३ः३० बजेसम्म मनोनयनपत्रमाथि दाबी विरोध, ३ः३० बजेदेखि ४ बजेसम्म जाँचबुझ, ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम बनाइएको समिति सदस्य केशव निरौलाले राससलाई जानकारी दिनुभयो ।

अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उहाँले बताउनुभयो । दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

रेग्मी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूह र पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट प्रतिस्पर्धा गर्ने चर्चा छ । दुई हजार १६५ प्रतिनिधिले भाग लिएका महाधिवेशनमा विभिन्न देशबाट दशजनाले प्रतिनिधित्व गर्नुभएको छ ।

‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा शुक्रबार बिहान ९ः३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५१ सदस्यका लागि निर्वाचन हुनेछ ।

विसं.२००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो । स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा रेग्मी, अम्बिका बस्नेत पनि अध्यक्षता ग्रहण गरिसक्नुभएको छ । हाल सो पदमा डा डीला सङ्ग्रौला हुनुहुन्छ ।