७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेयर–उपमेयरको विवाद मिलाउन सीडीओको रोहबरमा समिति गठन

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार १५:५९

नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलबीचको आर्थिक पारदर्शीताको विवाद मिलाउन सात सदस्यीय समिति गठन गरिएको छ । मेयर पौडेल र उपमेयर कँडेलबीच नगरपालिकाबाट सम्पन्न भएका योजना र खर्च सार्वजनिकको विषयमा विवाद हुँदै आएको छ ।

जनप्रतिनिधिहरुले पटक–पटक योजनामा भएका खर्च सार्वजनिक गर्न मागगर्दासमेत मेयर पौडेलले जानकारी नदिएको जनाउँदै उपमेयर कँडेलले मंगलबार मेयर र प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेकी थिइन् । तालाबन्दीपछि उत्सर्गमा पुगेको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बैठक बसेर कोष तथा लेखा नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

के हो विवाद ?
नगरपालिकामा १८ ओटा वडा छन् । वि.सं. २०७५ जेठसम्म हुने कार्यक्रम नगरसभाले पास गरेअनुरुप सम्पन्न भएका थिए । तर, असार १ देखि हुने कार्यक्रमलाई कार्यपालिकाले संशोधन गरी बाँडफाँट गर्ने निर्णय गरिएको थियो । कार्यपालिकाले ‘१–१८ कार्यक्रम’ शीर्षक राखेर कार्यक्रममा बजेट छुट्टाउने निर्णय भएको थियो ।

तर, कार्यपालिकाको बैठकबाट अनुमोदन नगराइ सोही शीर्षकको रकमबाट मेयर पौडेलले रकम बाँडेको उपमेयर कँडेलको आरोप छ । गठन भएको समितिले केही दिनमा कार्यक्रम र खर्चबारे प्रतिवेदन पेस गर्ने छ । समिति गठनपछि बिहीबारबाट नगरपालिकामा लगाइएको ताला खुलेको छ ।

मेयर पौडेलले भने कार्यपालिका र नगरसभाले अनुमोदन गरेको कार्यक्रममा रकम खर्च गरेको बताएका छन् । उनले व्यक्तिपिच्छे कार्यक्रमका बिल देखाउन जरुरी नभएको बताए । नगरपालिकामा मेयरसहित १० जना नेकपाका छन् । उपमेयरसहित १८ जना नेपाली कांग्रेसका जनप्रतिनिधि छन् । बहुमत र अल्पमतका कारण विभिन्न समयमा योजना र खर्चबारे नगरपालिकामा विवाद हुँदै आएको छ ।