८ बैशाख २०८१, शनिबार
Follow Us

बन्धक बनाई फिरौती माग्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार १६:०६

राजविराज । बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँलाई सार्वजनिक गरेको हो ।

राजविराज नगरपालिकाका–२ का राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान पछि साहलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँकाअनुसार छोरीको विवाहका लागि पैसा आवश्यक परेकाले नातामा भाइ पर्ने राम चरित्र यादवलाई गत वैशाख १० गते राजकुमारले सामान्य चिनजान रहेका विन्देश्वरसँग पटना पठाएका थिए । पटनाका लागि हिँडेका रामचरित्रलाई बीच बाटो मुज्जफरपुरमै बसबाट जबरजस्ती ओरालेर विन्देश्वरले उनलाई रेलबाट मोतिहारी पु-याई एउटा होटलमा लगेर बन्धक बनाई राखेको अनुसन्धानबाट खुलेको छ ।

विन्देश्वरसँगै रहेका नाम नखुलेका अन्य तीन चार जना मिलेर रामचरित्रलाई होटलको एउटा कोठामा बन्धक बनाई भारतीय मोबाइल नम्बरको प्रयोग गरेर राजकुमारसँग १० लाख भारतीय रुपैयाँ फिरौती मागेको र रकम नदिए रामचरित्रको हत्या गर्ने पटक पटक धम्की दिने गरेको प्रहरीको भनाई छ ।

त्यही अनुसार रामचरित्रका परिवारले नरेशप्रसाद साहका नाममा रहेका वीरगञ्जस्थित प्रभु विकास बैंकमा गत वैशाख १२ गते रु ९ लाख ६० हजार जम्मा गरेका थिए । बैंकमा जम्मा गरिएको सो रकम भोलिपल्टै अर्थात् वैशाख १३ गते विन्देश्वर साहले झिकेर लगेका थिए ।

भारतीय प्रहरी र पर्सा प्रहरीसँग सम्पर्कमै रहेका बेला विन्देश्वरलाई अचानक वीरगञ्जमा देखापरेपछि उनलाई सोहि स्थानमा घेरा हालेर पक्राउ गरी सप्तरी ल्याइएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

पक्राउ परेका साहसँग भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा रेञ्जर पदमा कार्यरत रहेको नक्कली परिचय पत्रसमेत फेला परेको पनि उहाँले जानकारी दिनुभयो ।