६ चैत्र २०८०, मंगलवार
Follow Us

दुःख जीवन रहेछ, दुःखै गरौं

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार १६:०९

राधिका कार्की थापा, अध्यक्ष महिला सीप विकास केन्द्र, इटहरी
बेलायतको लिभरपुलस्थित जोन मुरे विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रममा २५ नेपाली महिलाको सफलताको कथा राखिएको छ । त्यसमा इटहरीको सामाजिक परिचालक तथा उद्यमी राधिका कार्की थापाको पनि नाम छ । उनले सिलाइ बुनाइबाट उद्यम सुरु गरेकी हुन् । अहिले महिला सीप विकास केन्द्र सञ्चालन गरिरहेकी छन् । उनको सीप विकासबाट पाँच सयभन्दा बढीले तालिम लिएर आत्मनिर्भर बनिरहेका छन् । स्कुल फि तिर्न सकेर अध्ययन पूरा गर्न नसकेकी राधिकाको जीवनले कसरी कोल्टे फे-यो भन्ने विषयमा कुमार राउतले गरेको कुराकानी–

० के काम गर्छ महिला सीप विकास केन्द्रले ?
– महिलालाई सीप सिकाएर क्षमता अभिवृद्धि गर्ने काम गर्छ । विशेषतः शिक्षा, स्वास्थ्य क्षेत्रको सीप सिकेर हामी महिलालाई स्वरोजगार बनाउने प्रयत्नमा छौं ।

० कस्ताले सीप सिक्न पाउँछन् ?
– गरिबी निवारण लघुउद्यम कार्यक्रमअन्तर्गत हामीले परियोजना सञ्चालन गरेका हौं । विशेषतः दुर्गम, दलित, असहाय तथा सीप सिकेर आत्मनिर्भर बन्ने इच्छाशक्ति भएका महिलाहरूलाई हामी समेट्छौं ।

० अहिलेसम्म कतिले सीप सिके ?
– पाँच सयभन्दा बढीलाई हामीले सीपमूलक तालिम दिइसकेका छौं । धेरैजसो उहाँहरू आत्मनिर्भर बन्ने बाटोमा हुनुहुन्छ ।

० के सीप सिकाउनुभयो ?
– बजारको आवश्यकता र उद्यमी बन्ने चाहना राखेका व्यक्तिले चाहेको सीप हामी सिकाउँछौं । विशेषतः ब्युटिपार्लर सञ्चालन, मौरी पालन, ढाका बुनाइ, जाम बनाउन सिकाउँछौं । स्थानीयस्तरको कच्चा पदार्थको खपतलाई ध्यानमा राखेर सीप सिकाउँछौं । सीप सिकाउन हामीले कलेज सञ्चालन गरेका छौं । उक्त कलेजबाट १० महिना तालिम लिएको जाँगरिलो व्यक्ति बेरोजगार बन्नुपर्दैन ।

० महिलाले लिने तालिम यिनै मात्र हुन् ?
– होइन, व्यक्तिको क्षमतालाई ध्यानमा राखेर हामी तालिम दिन्छौं । ड्राइभिङ, नेतृत्व विकास तथा सहकारी सञ्चालनसम्बन्धी पनि हामी तालिम दिन्छौं । समूह बनाउने र बचत गर्न पनि सिकाउँछौं ।

० तालिम लिएर सहकारी खोल्ने पनि छन् ?
– छन्, पहाडी क्षेत्रमा पनि सहकारी सञ्चालन भइरहेको छ । समूहमा बचत गर्ने र त्यही बचतबाट व्यवसाय सञ्चालन गर्नेहरू धेरै छन् । हामी उहाँहरूलाई फ्लोअप गरिरहेका हुन्छौं ।

० तपाईंहरूले पनि सहकारी सञ्चालन गर्नुभएको छ ?
– छ, तलेजु बचत तथा ऋण सहकारी सञ्चालन गरेका छौं । दुई कार्यकाल म आफैंले नेतृत्व गरेकी थिएँ, अहिले हाम्रै संस्थाको सचिव अध्यक्ष हुनुहुन्छ ।

० कतिले रोजगार पाएका छन् ?
– ५–७ जना कर्मचारी हुनुहुन्छ । वार्षिक रूपमा एक करोड रुपैयाँसम्मको कारोबार गर्छौं । धेरै बचतकर्ता भएकाले थोरै बचत गर्दा पनि ठूलै रकम जम्मा हुन्छ ।

० कतिसम्म ऋण प्रवाह गर्नुहुन्छ ?
– ऋण प्रवाह गर्नुअघि हामी सीप सिकाउँछौं । दुई लाख रुपैयाँसम्म ऋण प्रवाह गर्छाैं ।

० लगानी जोखिम कत्तिको छ ?
– लगानीका जोखिम एकदमै धेरै हुन्छ । तर ऋणीको मेहनत, लगनशीलता र नियतलाई ध्यानमा राखेर ऋण प्रवाह गर्नुपर्छ ।

० सीप सिकाएर महिलालाई आत्मनिर्भर बनाउनुपर्छ भनेर कसले पे्ररणा दियो ?
– बुवाले । विवाह गर्नुहुँदैन, तर आत्मनिर्भर बन्नुपर्छ भन्ने पे्ररणा बुवाले नै दिनुभएको हो । सुरुमा मेरो टेलरिङ थियो । १५ रुपैयाँमा चोलो सिलाउँथे । यस्तो काम अरु महिलाले पनि सिके भने आत्मनिर्भर बन्न सजिलो हुने रहेछ भन्ने लाग्यो ।

० लुगा सिउने पेसा गर्दा अरुले के भन्थे ?
– मलाई चाहिँ यो पेसामा मज्जा आउँथ्यो, अलि काली पनि थिएँ, पछाडि कुरा काट्नेहरूले मलाई दमनी भन्दा रहेछन् । आफन्तले चाहिँ यो दमाई पेसा नगरेको भए पनि हुन्थ्यो भन्थे ।

० विवाह गर्नुभएन ?
– गरें, २९ वर्षमा विवाह भयो, इटहरीकै रमेश थापासँग मैले पे्रम विवाह गरेकी हुँ । अहिले दुई छोरी र एक छोरा छन् । ठूली छोरीले १२ सकिन् । दुई साना नानीहरू स्कुल पढ्दै छन् ।

० कति वर्ष पे्रममा बित्यो ?
– दुई तीन वर्ष पे्रम गरियो, त्यसपछि विवाह भयो ।

० कसले पहिला मन परायो ?
– दुवैले मन पराइयो होला । मेरो र उहाँको पसल नजिकै थियो । एकअर्कामा हेराहेर हुँदाहुँदै पे्रम बसेछ । इटहरी छोडेर जानुपर्दैन भनेर पनि उहाँसँग नजिक भएँ ।

० इटहरीवासी बन्नुभयो ?
– हो, २०५२ सालदेखि अहिलेसम्म इटहरीमै छु । म आफ्नो पेसा र व्यवसायमा छु । उहाँ आफ्नो व्यवसायमा हुनुहुन्छ ।

० अहिले सबै ठीकठाक छ ?
– सबै कुरा मिलेको छ । दुःखले मात्र जीवनको अर्थ सिकाउँदो रहेछ । जीवनमा धेरै दुःख गरियो । अहिले हामी सन्तुष्ट छौं ।

० पढाइ लेखाइ ?
– यतिबेला बीएडको परीक्षा चलिरहेको छ, परीक्षामा व्यस्त छु । विविध कारणले उमेरमा पढ्न सकिने वा पाइनँ । अहिले पढ्ने इच्छा लाग्यो, त्यसैले पढ्दैछु ।

० यो उमेरमा पढेर के गर्नुजस्तो लागेन ?
– लागेको छैन, पढ्ने इच्छा भएकाले लुकीलुकी किन पढ्नुप¥यो ?

० पहिला किन पढ्नु भएन ?
– फि तिर्न नसकेर । परिवार ठूलो थियो, दुई दिदीहरूलाई पढाउनुभयो । हाम्रा पालामा आइपुग्दा बुवासँग हाम्रो स्कुलको फि तिर्ने पैसा हुन छाड्यो । आफैले पैसा कमाउन थालेपछि एसएलसी दिएँ, पास गरें ।

० पढ्नुपर्ने रहेछ ?
– जागिर खान होइन, कामको सिलसिलामा कुनै अवसर आयो भने कति पढेको भनेर सोध्छन् । स्नातक पनि नगरेको भन्दा मनै अमिलो हुन्छ । त्यसैले स्नातक सक्ने अठोट लिएर पढ्न सुरु गरेकी हुँ ।

० राजनीतिमा पनि संलग्न हुनुहुन्छ ?
– लोकतन्त्रमा आस्था राख्छु, रुखमा मतदान गर्छु, तर कुनै पद लिएकी छैन । तर पार्टीले आवश्यकता ठानेमा सेवा गर्न तयार हुन्छ ।

० कांगे्रस नै किन नि ?
– म मात्र होइन, मेरो माइतीतिर तीन पुस्ते कांगे्रस हुन् । ससुरा चाहिँ इटहरीको प्रधानपञ्च भइसक्नुभएको रहेछ । श्रीमान् राजनीतिमा सक्रिय हुनुहुन्न । असल नेतृत्व छनोटमा मात्र सहभागी हुनुहुन्छ ।