१३ बैशाख २०८१, बिहीबार
Follow Us

कञ्चनपुरमा फेरि सुरु भयो आन्दोलन

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७५, शुक्रबार ०७:०४

कञ्चनपुर । निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पुनः आन्दोलन सुरु भएको छ । आन्दोलनको क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागेर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन हिजोदेखि पुनः सुरु भएको हो ।

महिला अधिकारकर्मी, नेपाली कांग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघ लगायत सर्वसाधारणको उपस्थितिमा दबाबमूलक आन्दोलन सुरु गरिएको हो । निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै बुधवार कालो सारी लगाएर तीज मनाएका महिलाअधिकारकर्मीले हिजो हात हातमा थाली र चम्चा लिएर प्रशासन अगाडि धर्ना दिएका थिए ।

घटना भएको ५० दिन पुगिसक्दा पनि सरकारले बास्तविक अपराधी पक्राउ गर्न नसकेका कारण पुनः आन्दोलन सुरु गरिएको दबाब मूलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन् । ‘सुरुमा प्रहरीले छिट्टै अपराधी पत्ता लगाउँछौँ भनेपछि आन्दोलन गरेनौं । त्यसपछि बालकको मृत्यु हुँदा कर्फ्यूका कारण आन्दोलन स्थगित गर्नुर्पयो,’ दबाबमूलक संघर्ष समितिका संयोजक श्रेष्ठले भनिन्, ‘अब भने हत्यारा सार्वजनिक नहुँदासम्म आन्दोलन रोक्दैनौँ ।’

हिजो विहीबारदेखि आन्दोलन सुरु गरेको नेपाल विद्यार्थी संघ कञ्चनपुरले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएको जनाएको छ ।