१२ बैशाख २०८१, बुधबार
Follow Us

आज ऋषि पञ्चमी

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७५, शुक्रबार ०७:०९

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुप-यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो ।