७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७५, शुक्रबार १५:३५

काठमाडौं । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निवेदक (विश्वकर्मा) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू ।”

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ । विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो । उहाँलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।