८ बैशाख २०८१, शनिबार
Follow Us

पेन्सनको रकम सामाजिक काममा

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार १०:०५

म्याग्दी । म्याग्दीका एक पूर्व बेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने रकम सामाजिक क्रियाकलापमा लगाएका छन् । हिस्तान–३ टिकोटका चन्द्रबहादुर पुनले बेलायत सरकारले पेन्सनबापत दिने ६० प्रतिशत रकम जन्मगाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उपलब्ध गराउने गर्नुभएको हो । हाल पोखरा–३ नदीपुर निवासी गोर्खा सैनिकको सेवा निवृत्त मेजर पुनले वार्षिक रु १५ लाख पेन्सन पाउनुहुन्छ ।

गाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि चन्द्रबहादुरले विभिन्न समयमा करिब रु ५० लाख सहयोग गर्नुभएको स्थानीय टिकोट माविका प्रधानाध्याकपक प्रदीप पुनले जानकारी दिनुभयो । टिकोट माविमा हालै नयाँ भवन निर्माण गर्न रु १८ लाख नगद उपलब्ध गराउनुभएका पुनले विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्नका लागि रु दुई लाख सहयोग गर्नुभएको थियो ।

महभिर टिकोट सडक निर्माणका लागि रु तीन लाख र टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न रु ५५ हजार नगद सहयोग गर्नुभएका पुनले करिब एक महिना श्रमदान गर्नुभएको थियो । पुनको सक्रियतामा टिकोटमा नैनसिङ सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन भएको छ ।

बुबा नैनसिङको नाममा क्लिनिक सञ्चालन गर्न पुनका दाजुभाइ र परिवारले रु २१ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । कोषको रकमबाट क्लिनिकका दुईजना कर्मचारीको तलब र औषधि खरिद गरिँदै आएको छ ।

क्लिनिकमा सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा टेलिमेडिसिन उपकरण जडान भएको छ । इन्टरनेट र वेभ क्यामेराको सहायताले काठमाडौँको मोडल अस्पतालका चिकित्सकले टिकोटका बिरामीको उपचार गर्दै आएका छन् ।

स्वास्थ्य संस्था टाढा हुँदा सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउन नसकेका टिकोट र घराम्दीका बासिन्दालाई क्लिनिकबाट सुविधा पुगेको छ । वार्षिक रु १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घसंस्थालाई सामाजिक कामका लागि रु ७२ लाख सहयोग गरिसक्नुभएको छ ।

कुनै पनि सङ्घ सङ्गठनको पदमा नबसेका पुनले सामाजिक काममा सहयोग गर्ने आफ्नो इच्छा भएको बताउनुभयो ।